कोरोना भाइरसविरुद्ध खोपको माग गर्दै कर्णाली प्रदेशका शिक्षक आन्दोलनमा उत्रिएका छन् । नेपाल शिक्षक महासंघको नेतृत्वमा शुक्रबार कर्णालीका १० वटै जिल्लाका शिक्षक धर्नामा बसेका हुन् ।
जिल्लाका शिक्षा विकास तथा समन्वय इकाइमा शिक्षकले बिहान १०:०० बजेदेखि १:०० बजेसम्म धर्ना बसेर ३४ बुँदे मागपत्र पेश गरेको नेपाल शिक्षक महासंघ सुर्खेतका सह-अध्यक्ष एवं जिल्ला आन्दोलन परिचालन समितिका संयोजक श्याम वलीको बताए ।
‘शिक्षकहरूलाई तत्काल कोभिड–१९ को खोप उपलब्ध गराउनुपर्ने माग राख्दै धर्ना बसेका हौँ,’ उनले भने, ‘राहत, अस्थायी, करार, साबिक उच्च मावि, बालकक्षाका शिक्षक र विद्यालय कर्मचारीहरूलाई दरबन्दी सिर्जना गरी स्थायीको प्रक्रियामा लिनुपर्ने पनि माग हो ।’
माध्यमिक तहसम्मको शिक्षा पूर्णरूपमा निःशुल्क हुनुपर्ने, शिक्षक अस्पतालको व्यवस्था गर्नु पर्नेलगायतका माग राख्दै शिक्षकको आन्दोलन निरन्तर रूपमा चलिरहेको कालीकोट शिक्षक महासंघका सदस्य पदमबहादुर मल्लले जानकारी दिए ।
प्रकाशित मिति: शुक्रबार, असार २५, २०७८, १६:४५:५२