हामीले हरेक दिन महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं। आज पनि हामीले दिनभरि घटेका घटनाहरुलाई समेटेका छौं।
सर्वोच्च अदालतको संवैधानिक इजलासमा असार ९ गतेदेखि आज, आइतबारसम्ममा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा निर्धारित ३२ घण्टामध्ये २८ घण्टा लामो सुनुवाइ सकिएको छ। यसबीचमा शेरबहादुर देउवासहित १४६ जना सांसदपक्षीय कानून व्यवसायी, विपक्षी अर्थात् सरकारी वकिल, प्रधानमन्त्री केपी ओलीका र सभामुख अग्निप्रसाद सापकोटाका निजी कानून व्यवसायीहरूको बहस सकिएको हो। अब मुद्दाका पक्षमा दुई घन्टा जवाफी बहस र बाँकी दुई घन्टा एमिकस क्युरीले राय पेश गरेपछि सर्वोच्चकातर्फबाट फैसला आउनेछ।
नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल एक आपसमा रिसाएको र सो रिस शान्त नभएसम्म एमाले एकता सम्भव नरहेको र दोश्रो तहका नेताको प्रयास पनि सार्थक नहुने बताएका छन्। यस्तै पार्टीभित्रका समस्या समाधानका लागि दुई नेताबीच भेटघाट अनिवार्य रहेको तर, बरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भेट्न अस्वीकार गरेको उपमहासचिव पौडेलको भनाइ छ।
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सर्वोच्च अदालतले संविधानलाई पुनर्जीवन दिने बताएका छन्। आइतबार विपक्षी गठबन्धनका विद्यार्थी संगठनले रत्न राज्यलक्ष्मी क्याम्पसमा आयोजित एक अन्तर्क्रिया कार्यक्रममा यस्तो बताएका हुन्। संविधानको पुनर्जीवन दिने कर्तव्य न्यायाधिशहरुको हातमा रहेको भन्दै प्रवक्ता शर्माको भनाइ छ। यस्तै एमाले नेतृ रामकुमारी रामकुमारी झाँक्रीले अहिले राष्ट्रपति र प्रधानमन्त्रीको मिलेमतोले गर्दा संविधान च्यातिएको र लाखौँको सपनामा तुषारापात भएको भन्दै राज्यका निकायहरु बीचको जस्तै राष्ट्रपति र प्रधानमन्त्रीमा पनि शक्ति पृथकीकरणको सिद्धान्तलाई विचार गरिनुपर्ने तर्क अघि सारेकी छिन्।
कोठा भाडा प्रकरणमा छुवाछुतका कारण अन्यायमा परेकी भनिएकी सञ्चारकर्मी रूपा सुनारले शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठलाई कारवाहीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेकी छन् । दोषी भनिएकी सरस्वती प्रधानलाई प्रहरीले हाजिरी जमानीमा छाडिदिएपछि शिक्षामन्त्री श्रेष्ठले आफ्नो गाडीमा राखेर घर पुर्याएका थिए । जातीय भेदभाव तथा छुवाछुतजस्तो गम्भीर मुद्दाको अपराध अनुसन्धानलाई प्रभावित गरी अभियुक्तलाई पदीय ओहोदा र सरकारी पद तथा स्रोत समेको दुरुपयोग गरी प्रहरी कार्यालयमै पुगेर जिम्मा लिएको सुनारको रिटमा उल्लेख छ।
यतिबेला युरोप र अमेरिकामा आयोजना भइरहेका छुट्टाछुट्टै फुटबल प्रतियोगिताले विश्वका फुटबल प्रेमिहरूको ध्यान तानि रहेको छ। यी दुवै प्रतियोगिताहरूको सेमिफाइनल समीकरण तय भइसकेको छ। जसमा, युरोकप फाइनल समिकरणका लागि बुधबार र बिहीबार तथा कोपाकपका फाइनल समिकरणका लागि मंगलबार र बुधबार प्रतिस्पर्धा हुनेछ।
प्रकाशित: २० असार २०७८ २१:०८ आइतबार