१६ असार, काठमाडौं । नवलपरासीमा नेपाल विश्वविद्यालय स्थापनाको तयारीमा जुटेका प्राज्ञिक व्यक्तिहरुले सरकारी नियुक्ति पाएका छन् ।
जेठ ३१ गते बसेको मन्त्रिपरिषद बैठकले नेपाल विश्वविद्यालय पूर्वाधार विकास तयारी समितिको अध्यक्षमा डा. अर्जुन कार्कीलाई नियुक्त गरेको छ ।
त्यस्तै सदस्यहरुमा डा. अमिना सिंह, डा. असीम ढकाल, प्रा.डा. विपिनचन्द्र अधिकारी, विरेश शाह, डा. दोभान राई, डा. संगीता कौशल मिश्र, डा. सूर्यराज आचार्य, डा. उत्तमबाबु श्रेष्ठ, र श्रवणकुमार राणा नियुक्त भएका छन् ।
यो समूहले नवपरासीको गैंडाकोटमा नेपाल विश्वविद्यालय स्थापनाको तयारी अघि बढाएका थिए । यो विश्वविद्यालयले हालसम्मका विश्वविद्यालयले गरिआएको काम भन्दा भिन्न, देशको विकास र राष्ट्रिय समस्या समाधानका लागि सभ्य बहस गर्न सक्ने आलोचनात्मक चेतसहितको विज्ञ जनशक्ति उत्पादन गर्ने लक्ष्य राखेको छ ।
निजीस्तरबाट विश्वविद्यालय स्थापनाका लागि सामूहिक पहल गरिरहेका प्राज्ञिक व्यक्तिलाई सरकारले नियुक्ति दिएको हो । अध्यक्ष अर्जुन कार्कीले सरकारी नियुक्ति पाएपछि विश्वविद्यालय स्थापनाको काम अघि बढाउन सहज हुने बताए ।
‘हामीले आफ्नै तरिकाले तयारी अघि बढाइरहेका थियौं । हाम्रो परिकल्पना सरकारले स्वीकार गर्ने वा नगर्ने निश्चित थिएन’ उनले भने, ‘अहिले सरकारले यसको स्वामित्व लिएको छ । सरकारले स्वामित्व लिएपछि हामीलाई काम गर्न सहज हुन्छ ।’
यो पनि पढ्नुहोस प्राज्ञहरुले देखेको विश्वविद्यालय सपना