जारी युरोकपको क्वाटरफाइनलमा प्रवेश गर्ने आठौं टिम युक्रेन बनेको छ। गए राति सम्पन्न प्रिक्वाटरफाइनलको खेलमा स्वीडेनलाई २–१ गोल अन्तरले हराउँदै युक्रेन क्वाटरफाइनलमा प्रवेश गरेको हो।
स्कटल्याण्डस्थित ह्याम्पडेन पार्कमा सम्पन्न खेलको २७औं मिनेटमा ओलेक्स्यान्डर जिन्छेन्कोको गोलमा युक्रेनले आफूलाई अग्रता बनाएको थियो।
यस्तै खेलको ४३औं मिनेटमा स्वीडेनका लागि इमिल फोर्सबर्गले गोल गर्दै खेल बराबरीमा ल्याए। त्यसपछि दुबै टिमले गोल गर्न नसक्दा खेल अतिरिक्त समयमा लम्बियो।
खेलको ९९ औं मिनेटमा मार्कस ड्यानिएलसन रेड कार्ड खाँदै बाहिरिएसँगै स्वीडेन १० खेलाडीमा सिमित भएको थियो। खेलको अतिरिक्त समयको अन्त्यमा अर्टेम डोभबाएकले गोल गर्दै युक्रेनको जीत सुनिश्चित गरे।
जीतसँगै युक्रेनले क्वाटरफाइनलमा अब इङ्ल्यान्डसँग प्रतिश्पर्धा गर्नेछ।
उता जारी १६ औं संस्करणको युरोकप फुटबलमा उपाधी दाबेदार जर्मनीलाई हराउँदै इङ्ल्यान्ड क्वाटरफाइनलमा प्रवेश गरेको छ।
लन्डनस्थित वेम्बली स्टेडियममा मंगलबार राति भएको प्रिक्वाटरफाइनलमा जर्मनीलाई २-० गोल अन्तरले पराजित गर्दै इङ्ल्यान्ड अन्तिम आठमा पुगेको हो।
प्रकाशित: १६ असार २०७८ ०६:५२ बुधबार