नेकपा एमालेकी केन्द्रीय सदस्य गीता कार्कीले रामेछाप जिल्लाका २ नगरपालिका र २ गाउँपालिकामा स्वास्थ्य सामग्री सहयोग गरेकी छन्। कोरोना भाइरसको दोस्रो लहर फैलिएसँगै रामेछापका स्थानीय तहमा महामारीसँग जुध्न अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन कार्की क्रियाशील रहेकी हुन् ।
रामेछापका सबै स्थानीय तहमा अत्यावश्यक स्वास्थ्य सामग्री पुर्याउने लक्ष्य रहेको उनकाे भनाइ छ । उनले भनिन्,`अहिले काेराेना महामारी स्थानीय तहका गाउँ गाउँमा फैलिएकाे र स्थानीय तहहरुलाई महामारीसँग लड्नकाे लागि आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउदा सहज हाेस् भन्ने उदेश्यले सानाे सहयोग गर्दै आएको छु।´
कार्की नेपाल स्केटिङ एण्ड स्केटबोर्डिङ महासंघकी महासचिवसमेत हुन। उनले यही संस्थामार्फत धेरै ठाउँमा पहल गरेर स्वास्थ्य सामग्री उपलब्ध गराउदै आएकी छन्। उनले संस्थामार्फत आफैँले पहलकदमी तथा व्यक्तिगत खर्च समेत गरेर गृह जिल्ला रामेछापमा स्वास्थ्य सामग्रीको अभाव हुन पहल गरेकी हुन्।
अहिलेसम्म कहाँ के के सहयोग ?
कार्कीले यसअघि जेठ २५ गते मन्थली नगरपालिका स्वास्थ्य सामग्री सहयोग गरिन् । अहिले रामेछाप नगरपालिकाको हिमगंगा, उमाकुण्ड र गोकुलगंगा गाउँपालिकामा उनले स्वास्थ्य सामग्री उपलब्ध गराएकी छिन् ।
त्यस्तै,मन्थली नगरपालिका वडा नम्बर ५ सुनारपानीमा पनि छुट्टै सहयोग पुर्याएकी छन्। भने प्रेस चौतारी नेपाल रामेछापलाई पनि स्वास्थ्य सामग्री सहयोग गरेकी छन्।
उनले गोकुलगंगा गाउँपालिकामा मात्रै उनले करिब ६ लाख रुपैयाँ बराबरका स्वास्थ्य सामग्री उपलब्ध गराएकी छिन् । कार्कीले गोकुलगंगालाई एन्टिजेन किट १०० थान, भिटिएम किट ३० थान, सर्जिकल पञ्जा १०० जोर, पल्स अक्सिमिटर २ थान, थर्मल गन २ थान, १० लिटर अक्सिजन उत्पादन गर्ने अक्सिजन कन्सन्ट्रेटर २ थान, ४० लिटरका अक्सिजन सिलिण्डर (अक्सिजन भरिएको) ३ थान हस्तान्तरण गरेकी छन्।
यीसँगै सर्जिकल मास्क २०० थान, गाउन १०० थान, स्यानिटाइजर ५०० एमएलको २ वोतल, एन–९५ मास्क ५० पीस, गमबुट १५ जोर र ५० पीस फेस सिल्ड उपलब्ध गराएकी छन्।
त्यस्तै ,सबै स्थानीय तहमा मेडिकल सामग्रीहरु उपलब्ध गराउने अभियान अन्तर्गत उमाकुण्ड गाउँपालिकालाई ३ लाख मूल्य बराबरका सामग्री उपलब्ध गराइन् ।
उमाकुण्डमा पुर्याइएका सामग्रीहरुमा अक्सिजन कन्सन्ट्रेटर १ थान, अक्सिजन सिलिण्डर २ थान, एन्टिजेन किट ५० थान र भिटिएम किट ६ सय पीस (२ बक्स) रहेका छन् ।
यता मन्थली नगरपालिकालाई भरेको अक्सिजन ५ थान, अक्सिजन कन्सन्ट्रेटर ४ थान, पल्स अक्सिमिटर २ थान, एन्टिजेन किट १ सय थान, भिटिएम किट ५ सय र मास्क ५ सय थान जेठमा नै उपलब्ध गराएकी थिइन ।
त्यस्तै,पीपीई सेट १५ पीस, गाउन २० थान, थर्मल गन २ थान र १ सय पीस एन–९५ मास्क मन्थली नगरपालिकाकी उपमेयर माया कुमारी कार्कीलाई हस्तान्तरण गरिएको थियो । मन्थली नगरपालिकालाई पनि ९ लाख मूल्य बराबरका स्वास्थ्य सामग्री हस्तान्तरण गरेकि हुन् ।
रामेछाप नगरपालिकामा पनि मेडिकल सामग्रीहरु उपलब्ध गराएकी छन् । रामेछापको हिमगंगामा उनले अक्सिजन कन्सन्ट्रेटर १ थान, अक्सिजन भरिएको सिलिण्डर २ थान, थर्मोगन २ पीस, पल्स अक्सिमिटर १ पीस, एन–९५ मास्क १ सय थान, पीपीई सेट ५० पीस, सर्जिकल मास्क ३ बक्स, जेनेरल सर्जिकल मास्क ३ बक्स र ५ सय एमएलका ३ ग्यालिन स्यानिटाइजर पठाएकी छिन् । रामेछापमा मात्रै मेडिकल तथा सर्जिकल सामग्री ३ लाख रुपैयाँ मूल्य बराबरका छन्।
त्यस्तै मन्थली–५, सुनारपानीमा पनि कार्कीले अक्सिजन सिलिण्डर एक थान उपलब्ध गराएकी छिन् । पीपीई सेट केही थान, सर्जिकल र मेडिकल मास्क केही थान उनले मन्थली–५ सुनारपानीमा उपलब्ध गराएकी छन् ।
यसैबीच प्रेस चौतारी नेपाललाई पनि उनले मास्क, स्यानिटाइजर र पीपीई सेट सहयोग गरेकी छन् । हालसम्म कार्कीले २२ लाख भन्दा बढी मूल्य पर्ने सामान आफू र आफू कार्यरत संस्थाको पहलमार्फत रामेछापमा उपलब्ध गराइसकेकी बताइन् ।
प्रकाशित: १४ असार २०७८ २१:२७ सोमबार