हामीले हरेक दिन महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं। आज पनि हामीले दिनभरि घटेका घटनाहरुलाई समेटेका छौं।
प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ ७ मा दोस्रोपटक प्रतिनिधिसभा विघटन गरेपछि परेका विभिन्न रिट निवेदनमाथि सर्वोच्च अदालतमा बुधबारबाट जारी अन्तिम सुनुवाइ प्रक्रियामा आइतबार रिटनिवेदक पक्षका ३६ कानून व्यवसायीले बहस सकेका छन्।
बहसमा अधिवक्ताहरूले अब, न्यायालयले राष्ट्रपतिलाई महाअभियोगदेखि उनका निर्णयमा हस्तक्षेपसम्मका माग अघि सारेका छन्। बुधबार, बिहीबार, शुक्रबार र आइतबार गरि ३६ जना कानून व्यवसायीले १२ घण्टा बहस गरेका हुन्। बहसका क्रममा कानून व्यवसायीहरूले प्रतिनिधिसभा पुनःस्थापना गर्नुपर्ने र देउवालाई संविधानको धारा ७६ (५) अनुसारको प्रधानमन्त्री नियुक्त गर्नुपर्ने तथा राष्ट्रपतिका निर्णयप्रति न्यायालय बोल्नुपर्ने माग अघि सारेका छन्।
नेकपा एमालेले पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गरेर थप कदम चाल्न दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएको छ । स्थायी कमिटीको आज बिहान बसेको बैठकले असार १६ गते आयोजक कमिटीको बैठक बोलाउने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए। बैठकमा सर्वोच्च अदालतले महाधिवेशन आयोजक कमिटीको निर्णयलाई मान्यता नदिई कर्णालीका चार सांसदलाई अन्तरिम आदेशमार्फत पुनर्वहाली गरेको विषयमा समेत छलफल भएको बताइएको छ।
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेललाई जिम्मेवारी सम्हालेको लामो समयसम्म पनि गठित मन्त्रिपरिषद्का सदस्यलाई मन्त्रालयको जिम्मेवारी दिन चुनौतीको विषय बनको छ। जेठ २९ गते गठित मन्त्रिपरिषद्का सदस्य मन्त्रीद्वय कुमार खड्का र मधुमाया अधिकारी गुरुङलाई आज मन्त्रालयको जिम्मेवारी दिएइएको छ। तर, हरिशरण आचार्य र राजीव गुरुङ (दीपक मनाङे) भने अझै बिना विभागीय मन्त्रालयमै अल्झिरहेका छन्। यसैबीच बिना विभागीय मन्त्री दिपक मनाङेले भने आफू भौतिक पूर्वाधार मन्त्रालय बाहेक अन्य मन्त्रालयको जिम्मेवारी नलिने बरु मुख्यमन्त्री बन्ने प्रतिक्रिया दिएका छन्।
नेपाल सरकार र विश्व बैंकबीच कोभिड १९ महामारीबाट उत्थानशील पुनरुत्थान तथा अति विपन्न र जोखिममा रहेकाहरुको संरक्षण एवं दिगो विकास हासिलका लागि सम्झौता भएको छ। जसमा, १५ करोड अमेरिकी डलर अर्थात् करिब १७ अर्ब ७८ करोड रुपैयाँ बराबरको सहुलियत ऋण उपलब्ध गराउने सम्बन्धी वित्तीय सम्झौतामा हस्ताक्षर भएको हो ।
युरोकप २०२० अन्तर्गतग शनिबार राति सम्पन्न दुई खेलमा डेनमार्कले वेल्सलाई ४ शुन्यले पराजित गर्दा, दोस्रो खेलमा इटालीले अष्ट्रियालाई २–० गोलले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेका छन्। यस्तै नकआउट चरण अन्तर्गत आज पनि दुई खेल हुँदैछन्। जसमा नेदरल्यान्ड्स र चेक रिपब्लिक तथा बेल्जियम र पोर्चुगल प्रतिस्पर्धा गर्दैछन्।
प्रकाशित: १३ असार २०७८ १९:३९ आइतबार