कुरा जुन २६, सन् २०१६ को हो । ८६ हजार जना भन्दा बढी दर्शकहरूको उपस्थिति रहेको अमेरिकास्थित न्यु जर्जीको मेटलाइफ स्टेडियममा कोपा अमेरिकाका उपाधिका लागि अर्जेन्टिना र चिली भिड्दै थिए । ९० मिनेट बितिसकेर थपिएको अतिरिक्त समयमा पनि दुवै टिमले गोल गर्न सकेका थिएनन्।
पेनाल्टी सुटआउटबाट विजेता छान्ने क्रममा अर्जेन्टिनाका लागि पहिलो पेनाल्टी किक पाएका लियोनल मेस्सी गोल गर्नबाट चुके । अनि अर्जेन्टिना ४–२ को अन्तरले पराजित भयो । त्यस किसिमको हारबाट असन्तुष्ट मेस्सीले अन्तर्राष्ट्रिय फुटबालबाटै सन्यास घोषणा गरेका थिए । पछि उनी सन्यास फिर्ता लिँदै मैदानमा फर्किए ।
त्यसअघि सन् २०१४ को विश्वकप फाइनलमा जर्मनी र अर्जेन्टिनाबीच भएको खेलमा जर्मनीले अतिरिक्त समयमा एक गोल गरिसकेको थियो । त्यसपछि अर्जेन्टिनाले पाएको फ्रिकिकको अवसरमा मेस्सीको प्रहार क्रसबारभन्दा माथिबाट गयो । संसारको सबैभन्दा राम्रो टिम भर्सेज सबैभन्दा राम्रो खेलाडीको नाम दिइएको उक्त खेलमा मेस्सीले चुकाएको प्रहार पनि सायद उनी आफैँले कहिल्यै विर्सने छैनन् ।
अब विगतबाट वर्तमानमा आऔँ । फुटबलका फ्यानहरूलाई अहिले भ्याइनभ्याइ छ । युरोप र अमेरिका दुई महादिपका टिमहरू आ–आफ्नो महादिपको च्याम्पियन बन्नका लागि भिडिरहेका छन् । युरोपमा एक वर्षले पछि सरेको युरोकप चलिरहेको छ भने अमेरिकी महादिपमा कोपा अमेरिका चलिरहेको छ । यता कोपा अमेरिका २०२१ लाई आफ्नो पहिलो अन्तराष्ट्रिय उपाधि बनाउने तर्खरमा मेस्सी छन् भने रोनाल्डो युरोकप विजेताको उपाधि जोगाउने तर्खरमा छन्।
यसरी रोनाल्डो र मेस्सी अहिले फरक फरक अन्तराष्ट्रिय टुर्नामेन्टमा भए पनि उनीहरूबीचको तुलना भने रोकिएको छैन । मेस्सीले क्लबका लागि राम्रो खेले पनि आफ्नो देशका लागि अपेक्षा अनुरुप खेल्न सकेका छैनन्। सायद त्यसै कारण उनले अन्तराष्ट्रिय खेल जीवनबाट सन्यास लिएका थिए । चमत्कारी गोल गर्ने मेस्सीबाट कोपा अमेरिकामा चमत्कारी जीतको अपेक्षा उनका फ्यानहरूले अवश्य नै गर्नेछन् ।
आशा गर्ने ठाउँ किन पनि छ भने कुनै समय अन्तराष्ट्रिय खेल जीवनबाटै सन्यास लिएका मेस्सी कोपा अमेरिका २०२१ मा राम्रो प्रदर्शन गरिरहेका छन् । कोपा अमेरिकाको समूह चरण अन्तर्गत अर्जेन्टिनाले चिलीसँग खेलेको बराबरीको खेलमा उनले फ्रिकिकमार्फत् शानदार गोल गरेका थिए। उरुग्वेविरुद्धको खेलमा रोड्रिगेजले गरेको गोल उनको पास विना असम्भव थियो । मंगलबार पाराग्वेलाई १–० ले पराजित गरेर अर्जेन्टिना कोपा अमेरिकाको क्वार्टर फाइनलमा पुगिसकेको छ ।
अर्कोतर्फ कोपा अमेरिका २०२१ को सबैभन्दा कडा दाबेदार मानिएको डिफेन्डिङ च्याम्पियन ब्राजिलले पनि समूह चरणमा ३ खेल खेल्दा ९ गोल गरी ३ वटा मै जीत हासिल गरेर क्वार्टर फाइनलमा स्थान सुनिश्चत गरिसकेको छ । यता अर्जेन्टिना पनि आफ्नो समूहको शीर्षस्थानमा रहे पनि अहिलेसम्म ३ गोल मात्रै गर्न सफल भएको छ ।
सैले अर्जेन्टिनाका लागि कोपा अमेरिकाको उपाधि जित्न सहज भने छैन । तर, मेस्सीबाट अपेक्षा गर्ने कारणहरू प्रशस्त छन्। अर्जेन्टिनाका लागि ११ अन्तर्राष्ट्रिय टुर्नामेन्टहरूमा सहभागी भएर पनि पटकपटक फाइनलमा निराशा झेलेकाले मेस्सी पक्कै पनि यस पटक जुनसुकै हालतमा उपाधि हात पार्ने दाउमा छन्। त्यसका लागि आफूले गोल गर्नुका साथै मिका लागि गोलका अवसरहरू सिर्जना गरेर मेस्सीले अर्जेन्टिनी कप्तानको जिम्मेवारी राम्रोसँग निभाइरहेका छन्।
उनको भूमिकाको प्रशंसा गर्दै अर्जेन्टिनी टिमका म्यानेजर लियोनल स्कालोनीले मेस्सी मैदानमा स्थिर भूमिका निभाउन र मैदानबाहिर पनि टिममा सुधार ल्याउन सफल भएको बताएका छन्।
अर्जेन्टिनाको अहिलेको राष्ट्रिय टिममा खासै दह्रो मानिँदैन। टिममा विगतको जस्तो स्टार खेलाडीहरू कमै छन्। युरोपका क्लबहरूको पनि अर्जेन्टिनी खेलाडीहरूप्रतिको आकर्षण घटेको छ। २५ वर्ष र सोभन्दा कम उमेरका ५ खेलाडीले मात्र पछिल्लो संस्करणको च्याम्पियन्स लिगमा स्थान पाएबाट यो प्रस्ट हुन्छ।
फुटबलमा टिमको भूमिका सबैभन्दा बढी महत्त्वपूर्ण हुन्छ। तर, स्टार खेलाडीको उपस्थितिले कम्जोर टिमलाई पनि राम्रो दिशा दिन सक्छ। त्यसैले मेस्सीले अर्जेन्टिनालाई कोपा अमेरिका जिताउन सक्दैनन् भन्नु पनि तथ्यपरक आँकलन हुँदैन।
जित्ने उद्देश्य बोकेर हिँडेका मेस्सीलाई कोपा अमेरिका सुरु हुनुभन्दा अगाडिको उनको फर्मले पनि साथ दिइरहेको छ। कोपा अमेरिका सुरु हुनुभन्दा अगाडिको सिजनमा पनि आफ्नो क्लब बार्सिलोनाका लागि उनले राम्रो प्रदर्शन गरेका थिए। पछिल्लो सिजनमा मात्रै उनले ३३ गोल गर्दै १० गोल गर्न सहयोग टिमका अन्य खेलाडीलाई गरेका थिए। साथै उनको प्रहारको सटिकता ४६ प्रतिशत रहेको थियो। बिहिबार ३४ वर्ष लागेका मेस्सी अहिले पनि सेलाएका छैनन् भन्ने उनले क्लबमा गरेको प्रदर्शनले देखाउँछ।
सर्वाधिक ६ पटकका बालन डिअर बिजेता मेस्सी एक वर्षमा सर्वाधिक ९२ आधिकारिक गोल गर्ने खेलाडी हुन्। त्यसका अलावा उनी ७२ गोलसहित अर्जेन्टिनाका लागि सर्वाधिक गोल गर्ने र सर्वाधिक ७२ गोलमा सहयोग पुर्याउने, खेलाडी पनि हुन्। त्यसैले मेस्सी क्लबका लागि मात्रै खेल्छन् र अर्जेन्टिनाका लागि खेल्न सक्दैनन् भन्नु गलत हुन्छ। तर, अर्जेटिनाका लागि कम्तिमा एउटा अन्तराष्ट्रिय कप नजिती उनको सफल फुटबल करियरमा केही कमी भने महसुस भइरहनेछ।
मेस्सीको खेल शैली र क्षमताको कारण उनलाई फुटबलको बादशाह भनेर चिनिने म्याराडोनासँग तुलना गर्दै आइएको छ। अर्जेन्टिनी सुपरस्टार म्याराडोना आफैले मेसीलाई आफ्नो उत्तराधिकारीको उपमा दिएका थिए। म्याराडोनाको सन् २०२० नोभेम्बरमा निधन भयो। सन् १९९३ यता ठूलो कप हात पार्न नसकेको अर्जेन्टिनालाई कोपा अमेरिका जिताएर विजयको सिलसिला सुरु गरी म्याराडोनाको बिँडो थाम्ने सुनौलो असर मेस्सीको अगाडि छ।
प्रकाशित: १० असार २०७८ २०:५१ बिहीबार