बुटवल उपमहानगरपालिकाले २०७८/०७९ का लागि २ अर्ब ५३ करोड २ लाख ४५ हजार ७ सय १० रुपैयाँ बराबरको बजेट ल्याएको छ । नगरसभाको नवौँ अधिवेशनमा आगामी आवका लागि योजना तर्जुमा समितिका संयोजकसमेत रहेकी उपप्रमुख गुमादेवी आचार्यले चालुतर्फ ३९.७७ प्रतिशत र पुँजीगत खर्च ५९.९८ प्रतिशत हुनेगरी बजेट प्रस्तुत गरेकी छिन् ।
विनियोजन गरिएको बजेटको स्रोतका रूपमा आन्तरिक स्रोतबाट ७१ करोड २५ लाख, राजस्व बाँडफाँडबाट २५ करोड ५७ लाख ६८ हजार, ऋणबाट ५ करोड, गत आवको अ.ल्या. ५० करोड, संघीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदान, शसर्त अनुदान, विशेष र समपुरक अनुदानबाट ७८ करोड ९७ लाख, प्रदेश सरकारबाट प्राप्त हुने शसर्त, समानीकरण, समपूरक तथा विशेष अनुदानबाट १३ करोड, १३ लाख, १६ हजार रहनेछ ।
बजेटमा महामारी र विपतबाट नागरिकको जीवनरक्षा गर्दै जनजीवनलाई सहज र सुरक्षित बनाउने, उपलब्ध साधन स्रोत, क्षमता र अवसरको उच्चतम परिचालन गरि आर्थिक विकासको गतिलाई निरन्तरता दिने उल्लेख गरिएको छ । त्यसैगरी सामाजिक, आर्थिक र पूर्वाधार विकासमार्फत नागरिकको जीवनस्तर माथि उठाउने जस्ता विषय बजेटको प्राथमिकतामा परेका छन् ।
प्रकाशित मिति: बिहीबार, असार १०, २०७८, २०:५८:१०