९ असार, काठमाडौं । विपक्षी गठबन्धनले प्रतिनिधिसभा विघटनविरुद्ध सडक आन्दोलन गर्ने भएको छ । संवैधानिक इजलासमा बहस सुरु भएकै दिन बुधबार बसेको गठबन्धनमा आवद्ध दलका नेताहरुको बैठकले जनपरिचालनको निर्णय गरेको हो ।
नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको विपक्षी गठबन्धनको बैठकले सरकारले अलोकतान्त्रिक र असंवैधानिक कदमलाई निरन्तरता दिएको निष्कर्ष निकालेको छ । साथै सरकारविरुद्ध दबावमूलक कार्यक्रम अगाडि सार्ने निर्णय गरेको कांग्रेस नेता बालकृष्ण खाणले जानकारी दिए ।
‘प्रधानमन्त्री र राष्ट्रपतिबाट एकपछि अर्काे गरी असंवैधानिक कामहरु भइरहेका छन्, लोकतान्त्रिक प्रक्रिया र संविधानको रक्षा गर्न दलहरु मिलेर अगाडि बढ्नुपर्नेमा सबैको जोड थियो,’ कांग्रेस नेता खाणले भने, ‘गठबन्धनमा आवद्ध दलका भ्रातृ तथा जनवर्गीय संगठन परिचालन गर्ने निर्णय भएको छ ।’
कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधव नेपाल समूह, जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चा आवद्ध गठबन्धनले पत्रकार, नागरिक समाज, बुद्धिजीवी लगायतसँग अन्तर्क्रिया गर्ने निर्णय गरेको छ ।
गठबन्धनका शीर्ष नेताहरुले भोलि बिहीबार पछिल्लो राजनीतिक घटनाक्रमबारे बरिष्ठ पत्रकार र सम्पादकसँग अन्तर्क्रिया गर्नेछन् । ‘समाजका सबै पक्षसँग संवाद गरेर हामी अगाडि बढ्छौं । उहाँहरुले दिएका सुझाव अनुसार विपक्षी गठबन्धन अगाडि बढ्छ,’ नेता खाणले भने ।
बैठकमा कांग्रेसका तर्फबाट सभापति देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का सहभागी थिए भने माओवादी केन्द्रबाट पुष्पकमल दाहाल प्रचण्ड’ नेता नारायणकाजी श्रेष्ठ र देव गुरुङ सहभागी थिए । यस्तै एमाले नेता माधवकुमार नेपाल र भीम रावल, जसपाका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई तथा राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेल सहभागी थिए ।