नेपाल कम्युनिस्ट पार्टी (एमाले) को एकतालाई कायम गर्न दोस्रो तहका नेताहरूले गरेको प्रयास सकारात्मक बन्दै गएको छ।
नेता माधवकुमार नेपाल पक्षले राखेको ‘२०७५ जेठ २’ को ‘बटमलाइन’ मा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीपक्षीय दोस्रो तहका नेताहरू आज सकारात्मक देखिएका छन्।
‘पार्टी एकता जोगाउनका लागि भए पनि मोटामोटी रूपमा उहाँ (माधव नेपालपक्ष) हरूले भनेको जेठ २ मा जाने कुरा भएको छ’, ओलीनिकट एक जना नेताले केन्द्रविन्दुलाई बताए।
नेपाल निकट एक जना नेताले पनि सम्वाद सकारात्मक बन्दै गएको बताएका छन्। उनका अनुसार एकताका लागि धेरै दिन कुर्न नपर्ने अवस्था आएको बताए। ‘सम्वादमा सकारात्मक दिशामा छ, छिट्टै एकताको कोर्श सुरु हुन्छ र हामी त्यसका लागि क्रियाशील छौं’, ती नेताले भने, ‘यति ठूलो जनमत प्राप्त पार्टी विभाजन हुँदा पार्टी र आन्दोलनलाई मात्रै होइन, देश र जनतालाई पनि नोक्सान हुन्छ।’
एमाले एकता जोगाउनका लागि सम्वादमा ओलीका विश्वास पात्र तथा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङ, विष्णु पौडेल र प्रदीपकुमार ज्ञवाली तथा नेपाल पक्षबाट सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेशकुमार भट्टराई र गोकर्ण विष्ट छन्।
दोस्रो तहका यी नेताहरू पार्टी एकता जोगाउनका लागि भन्दै निरन्तर सम्वादमा छन्।
तर, नेपाल पक्षका नेता भीम रावल, रामकुमारी झाँक्री लगायतले भने पार्टी सम्वादमा रहेका नेताहरूप्रति नै संशय व्यक्त गर्दै आएका छन्।
जेठ २ मा जाँदा नेपाललाई पनि घाटा
२३ फागुनमा सर्वोच्च अदालतको आदेशपछि एमाले ब्युँतिएदेखि नै नेता माधवकुमार नेपाल पक्षले पार्टीलाई जेठ २ पूर्वबाट अगाडि बढाउनुपर्ने माग राखे। सोही माग हाल पनि राख्दै आएको छ।
तर, यो मागअनुसार पार्टी अध्यक्ष ओली फर्किएको अवस्थामा माधवकुमार नेपालले पनि निकटका तीन जना स्थायी कमिटी सदस्य गुमाउने छन्।
उनीहरू हुन्, – रघुजी पन्त, डा. बेदुराम भुसाल र प्रमेश हमाल । तीनै जना माओवादीसँग एकता भएपछि स्थायी कमिटीमा आएका हुन्।
उनीहरूसँगै त्यसैबेला रघुवीर महासेठ र विष्णु रिमाल पनि स्थायी कमिटी सदस्य भएका थिए।
प्रकाशित: ४ असार २०७८ २०:४० शुक्रबार