सरकारले लकडाउनलाई आफ्नो सत्ता जोगाउने सुरक्षा कवचको रूपमा प्रयोग गरेको भन्दै नेपाली कांग्रेसले विरोध जनाएको छ ।
बिहीबार नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकबारे जानकारी गराउँदै नेपाली कांगेसका नेता प्रकाश शरण महतले सरकारकै उदासिनता र अर्कमण्यताको कारणले कोभिड–१९को विस्तार भएको र लकडाउन गर्नुपर्ने स्थिति आएको भन्दै लकडाउनलाई सरकारले सत्ता जोगाउने सुरक्षा कवचको रूपमा प्रयोग गरिरहेको बताए । यसको नेपाली कांग्रेसको बैठकले निन्दा गरेको उनले बताए ।
‘लकडाउनको अवस्थामा नागरिकहरूजति नै सरकारसँग असन्तष्ट भए पनि सडकमा निस्किन सक्ने अवस्था छैन, त्यसलाई उहाँहरूले आफ्नो सत्ता जोगाउने कवचको रूपमा लकडाउनलाई लिइरहनुभा’छ, त्यो संक्रमणको अवस्थालाई लिइरहनुभा’छ । संक्रमणबाट उहाँहरू दुखी हुनुपर्ने, यसलाई कसरी चाँडोभन्दा चाँडो कम गर्ने, रोक्ने भन्ने ठाउँमा यसले सत्तामा हामी झन् सुरक्षित भयौँ । कोही विरोधमा निस्किन सक्दैन । बाहिर आउन मिल्दैन भनेर उहाँहरू यसमा सहज महशुस गरिरहनुभा’छ’ उनले भने ।
बैठकमा कांग्रेसको केन्द्रीय महाधिवेशन १६ देखि १९ भदौसम्म गर्नेगरी प्रस्ताव पेश भएको छ भने स्थानीय तहको महाधिवेशन १२ साउनबाट गर्ने प्रस्ताव छ । यसबारे छलफल गरेर निष्कर्ष निकालिने नेता महतले बताए ।
महाधिवेशनको सम्बन्धमा सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै नेपाली कांग्रेसका नेता रमेश लेखकले क्रियाशील सदस्यता विवादकै कारणले महाधिवेशन प्रभावित नहुने बताए । उनले छिट्टै नै क्रियाशील सदस्यको सम्बन्धमा परेका उजुरीउपर छलफल गरेर अन्तिम नामावली निकालिने जानकारी दिए । उनले भने ‘६ गतेसम्म उजुरी दिन समय राखेका छौँ । गुनासाहरू आएका छन् । भोलिदेखि गुनासा र उजुरी हेरेर निष्कर्ष निकाल्छौँ । अन्तिम नामावली फाइनल गर्न लाग्छौँ ।’
बैठकले सिन्धुपाल्चोकको बाढीको घटनामा दुःख प्रकट गर्दै तिनै तहको सरकारलाई पूर्ण प्राथमिकताका साथ उद्धार र राहतमा लाग्न भनेको छ ।
प्रकाशित मिति: बिहीबार, असार ३, २०७८, २२:२२:०९