सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकको बाढीग्रस्त मेलम्चीक्षेत्रको स्थलगत अवलोकन गर्दै तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर उद्धार, राहत, विस्थापितहरूको अस्थायी बसोवास एवं पुनर्स्थापनाको काम अघि बढाउन अपिल गरेका छन् ।
मंगलबार साँझदेखि मेलम्ची र इन्द्रावती नदीमा आएको भीषण बाढीले पुर्याएको क्षतिबारे अवलोकन गर्दै उनले उद्धार र बाढीबाट भएको क्षतिको विस्तृत विवरण संकलनलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताए । उनले आफ्नो तर्फबाट आवश्यक पहलकदमी लिने प्रतिवद्धतासमेत जनाए ।
सभामुख सापकोटाले मेलम्चीमा भएको क्षतिका सम्बन्धमा मेलम्ची नगरपालिका प्रमुख डम्बर अर्याल र सम्बद्ध पक्षसँग विस्तृत जानकारी लिएका थिए । मेलम्ची नगरपालिकामा भएको छलफलमा सभामुख सापकोटाले बाढीपछि अवरुद्ध फोन, इन्टरनेटलगायतका सूचना तथा सञ्चार क्षेत्र, विद्युत र सडकहरू तत्काल सुचारु गर्न संघ, प्रदेश र स्थानीय सरकारको समन्वयमा कार्य अघि बढाउनु पर्ने बताए ।
उक्त छलफलले बाढीपीडित नागरिकलाई तत्काल राहत वितरणलगायतका कार्य गर्न जिसस प्रमुख कृष्ण गोपाल तामाङको संयोजकत्वमा ‘इन्द्रावती मेलम्ची क्षेत्र प्राकृतिक विपद् व्यवस्थापन मूल समिति’ गठन भएको छ ।
बाढीबाट विस्थापितलाई तत्काल राहतका लागि खाद्यान्नलगायतका सामग्री आजै नवगठित ‘इन्द्रावती मेलम्ची क्षेत्र प्राकृतिक विपद् व्यवस्थापन मूल समिति’ लाई हस्तारन्तरण गरिएको छ । समितिले बाढीपीडितका लागि प्राप्त भएका र आगामी दिनमा प्राप्त हुने सबैखाले राहत सामग्री एकद्वार प्रणालीबाट वितरण गर्ने निर्णय गरेको छ ।
प्रकाशित मिति: बुधबार, असार २, २०७८, २०:४९:००