विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक आज अपरान्ह ४ बजे बस्दैछ। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा रहने परिषद्को बैठक बस्न लागेको हो।
प्रधानमन्त्रीको अध्यक्षतामा हुने परिषदमा सरोकारवाला मन्त्री, विपक्षी दलका नेता, सबै प्रदेशका मुख्यमन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, मुख्यसचिव, प्रधानसेनापति, राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत लगायत सदस्य रहन्छन्।
गएरातिदेखि परिरहेको पानीका कारण आएको बाढी तथा पहिरोले मुलुकका विभिन्न जिल्लामा क्षति गरिरहेकाले ओलीको अध्यक्षतामा बैठक बस्न लागेको हो। बैठकमा हालको स्थितिबारे समीक्षा हुनेछ भने प्रतिकार्यको विषयमा पनि निर्णय हुने बुझिएको छ।
त्यसो त बुधबार बिहान पनि विपद् जोखिम तथा व्यवस्थापन कार्यकारी समितिको बैठक गृहमन्त्री खगराज अधिकारीको अध्यक्षतामा बसेको थियो। उक्त बैठकले मन्त्रालयको संयुक्त प्रयासमा विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउने निर्णय गरेको छ।
सरकारले सबै मन्त्रालयलाई परिचालित गरेर बाढी–पहिरो प्रभावित क्षेत्रमा उद्धार, राहत तथा व्यवस्थापनको कामलाई प्रभावकारी बनाउने निर्णय गरेको छ।
बैठकमा सिन्धुपाल्चोक, मनाङलगायत बाढी–पहिरो प्रभावित क्षेत्रको अवस्थाबारे समीक्षा गरिएको थियो।
त्यहाँ खाद्यसामग्री, टेन्टलगायतका अरु आवश्यक व्यवस्था तुरुन्त गर्ने र जोखिममा परेकालाई तत्काल उद्धार गर्ने निर्णय बैठकले गरेको छ।
प्रकाशित: २ असार २०७८ १५:५८ बुधबार