लमजुङको दोर्दीखोलामा मंगलबार साँझ आएको बाढीले हिलेबजारका १३ घर बगाएको छ।
दोर्दी गाउँपालिका-८ मा भर्ने हिलेबजारका स्थानीय क्षितिज लामाका अनुसार मंगलबार साँझ ६ बजेदेखि बजारमा खोला पसेको थियो। रातभरि खोलाले बजारका घरहरू बगाउन थालेको र अहिले पनि जारी रहेको उनले बताए।
‘कोही त मेला गएका थिए, साँझ घर आउँदा बगाइसकेको थियो’, लामाले भने, ‘राति घर बगाउँदा मान्छे भागेर ज्यान जोगाए, सामान निकाल्न पाएनन्।’
बाढीले भत्काउन लागेका घरका सामान निकाल्न आफूहरू लागिपरेको उनले बताए।
लमजुङका प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलले हिलेबजारका स्थानीयको उद्धारमा इन्स्पेक्टरको नेतृत्वमा प्रहरी टोली खटाएको बताए।
सदरमुकाम बेसीशहरबाट करिब २५ किलोमिटर दुरीमा पर्ने हिलेबजार जाने कच्ची बाटो पहिरोले भत्किएको लुइँटेलले बताए।
दोर्दीखोलामा बाढी आएपछि स्थानीय भागेर नजिकैको स्कुलमा गएर रात बिताएको थिए। हिलेबजारका स्थानीय क्षितिज लामाका अनुसार दोर्दीखोलामा आएको पहिरोले केहीबेर खोला थुनिएको र अचानक फुट्दा बजार नै बगाउने गरी बाढी आएको थियो। बाढीले घरहरूमा क्षेति भए पनि मानवीय क्षति भने भएको छैन।
दोर्दीखोलामा आएको बाढीले निर्माण सकिनै लागेका जलविद्युत आयोजनामा पनि क्षति पुर्याएको छ। लिवर्टी हाइड्रो पावर र हिमालय हाइड्रो पावरले बनाइरहेका आयोजनामा क्षति पुगेको सिडिओ लुइँटेलले बताए। उनका अनुसार दोर्दीका जलविद्युत आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोड्न बनाइएका टावर र बिजुलीका अन्य पोलसमेत बाढीले ढलाएको छ।
यस्तै मर्स्याङ्दी नदीमा आएको बाढीले भुलभुलेमा लेकबेसी पानी सिंचाइ कार्यालय, लेकबेसी पानी उद्योग र एउटा रेष्टुरेन्ट बगाएको छ। मर्स्याङ्दी नदीले कटान गर्दा उपल्लो लमजुङको रामबजारस्थित खेलमैदान पनि बगाएको सिडिओ लुइँटेलले बताए।
बाढी र पहिरोका कारण लमजुङको जगतमा २ वटा बुङ्गुर फार्म र एउटा कुखुरा फार्म पनि बगाइदिएको छ। मनाङ जाने सडकको लमजुङ खण्ड च्याम्चेमा पहिरोले अवरूद्ध भएको सिडिओ लुइँटेलले जानकारी दिए।
प्रकाशित मिति: बुधबार, असार २, २०७८, ०९:१५:००