अविरल वर्षाका कारण बुटवलको तिनाउ नदीले खतराको तह पार गरेको छ । नदीले खतराको तह पार गरेको भन्दै बुटवल उपमहानगरपालिकाले नदी तटीय क्षेत्रका वासिन्दालाई सतर्क रहन आग्रह गरेको छ । बुटवलको बुद्धनगर, हात्तीसुँढ, पवित्रानगर क्षेत्रका स्थानीयलाई सर्तक रहन उपमहानगरपालिकाले आग्रह गरेको हो ।
नगरप्रमुख शिवराज सुवेदीले नदीको निरीक्षण गर्दै नदीमा पानीको बहाव बढेकाले असुरक्षित रहेका नदी किनारका स्थानीयलाई सुरक्षित स्थानमा जान आग्रह गरेका छन् । उनले केही आपतकालीन सहायता आवश्यक परेमा टोल विकास संस्था, जनप्रतिनिधि अथवा सुरक्षा निकायमा खबर गर्न पनि आग्रह गरेका छन् ।
तिनाउको जल सतह खतराको अवस्थामा पुग्न लागेकाले मातहतका सबै संयन्त्र र जिल्ला स्थित सुरक्षा निकायलाई तम्तयार रहनसमेत प्रमुख सुवेदीले आग्रह गरेका छन् । उपमहानगरपालिकाले आफ्ना संयन्त्रलाई जोखिमपूर्ण क्षेत्रमा निरीक्षण र सूचना संकलनका लागि खटाएको पनि उनले जानकारी दिए ।
प्रकाशित मिति: मंगलबार, असार १, २०७८, १९:२३:००