अर्बपति जेफ बेजोसको ब्लु ओर्जिन कम्पनीले बनाएको न्यु सेफर्ड स्पेस रकेटमा ११ मिनेट यात्रा गर्न एक जनाले २ करोड ८० लाख डलर तिरेका छन्।
२० जुलाईमा अमेरिकाको टेक्ससबाट उड्ने उक्त रकेटमा यात्रा गर्ने टिकटका लागि शनिबार लिलामी बढाबढ भएको थियो।
२० जनाले उक्त टिकटका लागि भाउ लगाएका थिए। ४८ लाख डलरबाट सुरू भएको बोलकबोल १० मिनेट नबित्दै २ करोड ८० लाख पुगेको थियो। यसअघि उक्त टिकट किन्नका लागि संसारका १५९ देशबाट ७ हजार ६ सय मानिसले फारम भरेका थिए।
ब्लु ओर्जिनले त्यत्रो पैसा खर्चेर उक्त टिकट किन्ने व्यक्ति को हुन् भन्ने खुलाएको छैन। कम्पनीले यात्रुका लागि उमेरदेखि, स्वास्थ्यका विषयमा विभिन्न मापदण्ड बनाएको थियो।
अमेजनका मालिक बेजोसले सन् २०००मा ब्लु ओर्जिन कम्पनी खोलेका थिए। उक्त कम्पनीले बनाएका मानवरहित रकेट यसअघि नै अन्तरिक्षमा गइसकेका छन् भने यात्रु लिएर न्यु सेफर्ड पहिलो पटक अन्तरिक्षमा जान लागेका हो। रकेटमा बेजोससँगै उनका भाइ मार्क पनि हुनेछन्। स्वचालित फ्लाइटमा सबै ६ जना यात्रु हुने बताइएको छ। अरू यात्रीबारे अहिलेसम्म खुलाइएको छैन।
गत साता इन्स्टाग्राममा बेजोसले आफूले पाँच वर्षको हुँदादेखि नै अन्तरिक्षमा यात्रा गरेको सपना देख्ने गरेको बताएका थिए।
ब्लु ओर्जिनले लिलामीबाट आएको पैसा कम्पनीको फाउन्डेसन क्लब फर द फ्युचरका लागि दिने घोषणा गरेको छ।
बेजोसले अहिले ब्लु ओर्जिनका लागि वार्षिक झन्डै एक अर्ब डलर खर्च गरिरहेका छन्। उनले जुलाई ५ मा अमेजनको प्रमुख कार्यकारी अधिकृतबाट राजीनामा दिन लागेका छन्।
प्रकाशित मिति: आइतबार, जेठ ३०, २०७८, ०७:३५:००