२९ जेठ, पोखरा । सत्ताको खेलमा रातारात कित्ता परिवर्तन गरी विपक्षीलाई साथ दिने घोषणा गर्दै राजीव गुरुङ (दीपक मनाङे)ले भने, ‘यो व्यवस्था बचाउन यस्तो निर्णय गरें ।’ लामो राजनीतिक संघर्ष र संघीय व्यवस्था ल्याउन लडेका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संसद भंग गर्न खोजेकाले उनको साथ छाडेको उनकै सरकारका युवा तथा खेलकुद मन्त्री मनाङेको भनाइ थियो ।
संसदको हत्या हुन नदिन विपक्षी गठबन्धनलाई साथ दिएको मना मनाङेको सुनेपछि त्रिभुवन विश्वविद्यालयका मानवशास्त्र विभाग प्रमुख प्राध्यापक डम्बर चेम्जोङ लाग्यो, ‘दीपक मनाङेले बचाइदिनुपर्ने कस्तो लोकतन्त्रको विकास गरेछौं ?’
आपराधिक पृष्ठभूमिका मनाङे विपक्षीका नजरमा कहिले गुण्डा नाइके भने त कहिले भाग्यदाता ।
सुरुमा सत्ता पक्षका लागि नायक बनेका मनाङे एकाएक सरकारै गिराउने खलनायक बने । ‘राजनीति बजारजस्तो भयो । लोकतान्त्रिक मूल्य, मान्यता, विचारसँग यो सम्बन्धित नै छैन, किनबेचसँग सम्बन्धित छ,’ लोकतान्त्रिक मूल्य मान्यतामाथि विमर्श गर्दै आएका चेम्जोङले भन्छन्, ‘लोकतन्त्र दलाल लठैतको हातमा गयो । मनाङेहरु त्यसैको उपज हुन् । मनाङेले व्यवस्था बचाइदिएका होइनन्, व्यवस्थाको गलत प्रयोग गर्नेहरुबाट फाइदा उठाएका हुन् ।’
तर सत्ता अंकगणित र गलत राजनीतिक अभ्यासमा मनाङेहरुलाई कहिलेकाहिँ ‘हिरो’का रुपमा प्रस्तुत गर्न खोजिन्छ । चेम्जोङले भने झैं गण्डकी प्रदेशमा भइरहेको छ । सुरुमा दुई तिहाई पुर्याएका कारण त १५ वैशाखमा सत्ता बचाइदिएका कारण एमालेलाई मनाङलाई हिरो झै लाग्यो । उसो त स्वतन्त्र उम्मेदवारका रुपमा उनलाई जिताउने भूमिका पनि एमालेकै पथियो ।
अहिले उनी विपक्षी गठबन्धनका लागि हिरो भएका छन् । राष्ट्रिय जनेमार्चाका कृष्ण थापालाई सर्वोच्च अदालतले पुनर्वहाली गरिदिएपछि सरकार गठन गर्ने प्रयास विफल भएको निष्कर्षमा पुगेका विपक्षी गठबन्धनको साहारा मनाङे बने । मनाङे पनि युवा तथा खेदकुदबाट अझै कमाउ मन्त्रालयतिर जान पाउने भएपछि सहजै कित्ता परिवर्तन गर्न सहमत भए ।
मनाङेकै जगमा उभिएर शनिबार नेपाली कांग्रेस संसदीय दलका नेता ककृष्णचन्द्र नेपाली मुख्यमन्त्री बने । लगतै मुख्यमन्त्री पोखरेलले पनि चार मन्त्री नियुक्त गर्दा मनाङेलाई छुटाएनन् । मनाङेको दाबीलाई मान्ने हो भने अब उनले भौतिक पूर्वाधार मन्त्रालय पाउनेछन्, जुन निकै शक्तिशाली मन्त्रालय हो ।
मनाङेको संसदमा प्रवेश
२०७४ मंसिरमा भएको प्रदेशसभा चुनावमा स्वतन्त्र उम्मेदवार बनेका मनाङे एमालेको साथ पाएर निर्वाचित भए । २०७४ माघ ७ गते गण्डकी प्रदेश सभाका सबै सांसदले सपथ लिँदा मनाङ ‘ख’ बाट चुनाव जितेका राजीव गुरुङ (दीपक मनाङे) फरार थिए । ज्यान मार्ने उद्योग सम्बन्धी पुरानो मुद्धा ब्युँतिएपछि २०७४ मंसिर १० गते मनाङ ‘ख’ बाट चुनाव जितेर पनि उनले सपथ लिन पाएका थिएनन् ।
नयाँ फौजदारी संहिता ऐनको १९४ ले १० वर्षभन्दा कम सजाय हुने मुद्दामा जेल नबसी मुद्दा लड्न पाउने सुविधा दिएपछि सर्वोच्चको आदेशमा पुस ६ गते कारागर मुक्त भए । पुस १२ गते सपथका लागि माग गर्दै प्रदेश सभा सचिवालयमा निवेदन दिए । सर्वोच्च अदालतमा मुद्धा विचाराधीन रहेका सपथ खुवाउन नहुने भन्दै नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र जनमोर्चाले विरोध गरे ।
तत्कालीन नेकपा र मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ सपथ खुवाउने पक्षमा थिए । सभामुख नेत्रनाथ अधिकारीले पनि तत्काल सपथ खुवाउन नसकिने प्रतिक्रिया दिए । सपथ खुवाउन माग गर्दै सभामुख र मुख्यमन्त्रीलाई भेटेपछि २०७५ पुस २१ गते मनाङले प्रतिक्रिया दिए, ‘यो प्रदेशमा कानुन बुझेको कोही रहेनछ, सभामुखले त झन् केही जान्दो रहेनछ । अब म सिकाउँछु कानुन र राजनीति के हो भन्ने ।’
तर सत्ता पक्षले दुई तिहाई पुर्याउने लोभमा उनलाई सपथ खुवाए । २०७५ माघ १५ गते गण्डकी प्रदेश सभा सदस्यको सपथ लिएका मनाङे) धेरैको ध्यान खिचे । प्रदेश सभासुरु भएको १४ महिनापछि कारागारमुक्त भएर सपथ लिएपछि मनाङले सरकारका प्रवक्ता रामशरण बस्नेतसँगै बसेर भनेका थिए, ‘जेल जानु के ठूलो कुरा हो र ? मन्त्रीलाई एक झापड हानिदिनुस्, भइहाल्छ ।’
उनी नेकपा पनि बने । बेलाबेला विवादास्पद अभिव्यक्ति र हर्कतका कारण चर्चामा आए । तर प्रदेश राजनीतिमा उनको भूमिका त्यतिमै सिमित थियो । तर जब नेकपा फुट्यो, सत्ताको खेल सुरु भयो, मनाङेको एक मत एकाएक महत्वपूर्ण बन्न थाल्यो । सबै दललाई राजनीतिक सिकाउने बताएका मनाङेले कहिले सत्ता पक्ष त कहिले प्रतिपक्षीलाई प्रयोग गर्न सफल भएका छन् ।
जब नेकपामा विभाजन आयो, तब आफू स्वतन्त्र सांसद भएको बताए र सत्ता पक्षलाई हल्लाइदिए । स्वतन्त्र सांसदको हैसियतले छुट्टै बस्ने कुर्चीको मागे । एमाले नेता वामदेव गौतमले सुरु गरेको पार्टी एकता अभियानको पक्षमा लाग्ने तर सरकारलाई साथ नदिने भन्दै तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बालाई झस्काइदिए । दुबैतिर बार्गेनिङ गरे र, पृथ्वीसुब्बाबाट मन्त्री हात परेर सत्तामा पुगे ।
मनाङेलाई मन्त्री बन्नु थियो र मुख्यमन्त्री गुरुङलाई सत्ता जोगाउनु थियो । त्यसैले संविधानको धारा १६८ (३) अनुसार पुनः मुख्यमन्त्री बन्दा पनि गुरुङले पनि उनलाई मन्त्रीमा निरन्तरता दिए । तर जब गुरुङले विश्वासको मत नपाएर सरकार ढल्ने देखे, विपक्षीको मोर्चामा उभिएर फेरि मन्त्री बनेका छन् ।
यो साँचौ हो कि मनाङेको साथले नयाँ सरकार बनेको मात्र होइन, प्रदेशसभा पनि बचेको छ । तर मनाङेले भने जस्तो उनले संसद बचाउने राजनीति मात्र गरेका होइनन् । उनको राजनीतिक इतिहासले भन्छ, जता स्वार्थ पूरा हुन्छ मनाङे त्यतै लाग्छन् । गुण्डागर्दीमा सक्रिय रहेकै बेला मनाङे कमल थापाको राष्ट्रिय प्रजातन्त्र पार्टीमा लागेका थिए । मनाङे राप्रपा मनाङको अध्यक्ष समेत भएका थिए । राप्रपाबाट उपलब्धी हात पार्न नसकेपछि उनी उनी लक्ष्मण चौधरीको संघीय समाजवादी पार्टीमा प्रवेश गरे ।
०७३ पुस २८ गते राप्रपा प्रवेश गरेका मनाङे ०७४ असोजमा एमाले प्रवेश गरेका हुन् । प्रदेश सभाको निर्वाचनमा एमालेबाट टिकटको दाबी गरे । तर, एमालेले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी घोषणा गरे । पछि एमालेले आफ्नो उम्मेदवार फिर्ता गराएर मनाङेलाई समर्थन गरेपछि चुनाव जितेर प्रदेश यात्रा तय गरेका थिए । सासद जितेलगत्तै फरार भएका मनाङे साबिकको नेकपाको साथ लागेर सपथ लिन सफल भए । २०७६ असार १९ गते नेकपा प्रवेश नै गरे ।
अहिले तिनै मनाङे एमाले इतरको गठबन्धनका लागि प्रिय बनेको छ । जबकि मनाङेलाई सपथ खान नदिन सबैभन्दा विरोध गर्ने नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र बिनाविभागी मन्त्री बनेका कुमार खड्का नै थिए । पद र शक्तिमा पुग्ने स्वार्थमा मनाङेले काँध थापिदिएकै कारण कांग्रेस नेतृत्वमा सरकार गठन हुन भएको हो । मनाङेले संसद जोगाउन होइन सत्तामा रहनका लागि निर्णय गरेको उनकै भनाइबाट प्रस्ट हुन्छ । ‘म जसको सरकार बन्द उसकै पक्षमा उभिने हो,’ मनाङेले बताएका थिए ।
दीपक मनाङे संसदमा कुनै छलफलमा भाग लिएनन् । बरु सरकारले राम्रो काम गर्न नसकेको भन्दै आफू बसेको विकास समितिबाट पनि राजीनामा दिएका थिए । पटक पटक विभिन्न अपराधमा जेल खेपेर आएका मनाङे प्रदेश सभा सदस्य भएपछि पनि कुटपिट गरेर हिरासतमा पुगे । गत ८ माघमा अखिल नेपाल फुटबल संघ (एन्फा)का कास्की अध्यक्ष मीलन गुरुङलाई झापड हानेर पक्राउ परेका मनाङे १२ माघमा छुटेका थिए । तिनै मनाङेको जगमा अहिले नेपाली कांग्रेसका कृष्णचन्द्र नेपालीको नेतृत्वमा सरकार गठन भएको छ ।
‘मनाङेले मन्त्री हुनु कुनै ठूलो कुरा भनिरहेका थिए । संसदीय राजनीतिमा जनताको मत र विश्वास पाएर मन्त्री हुनु वास्तवमा ठूलो कुरा हो,’ विश्लेषक चेम्जोङ भन्छन्, ‘खुला बजारको प्रतिस्पर्धामा पनि मूल्य मान्यता हुन्छ । तर, राजनीति अर्काको गला घोटेर आफ्नो बजारलाई बिस्तार गर्ने बाटोमा छ ।’
अहिले अंकगणितले सरकार बनाइदिएर संसद बचाइदिएँ भन्ने मनाङेको पृष्ठभूमि र प्रवृति भोलि संसद र गठबन्धनको सरकारकै लागि घातक हुन सक्ने उनको भनाइ छ । सिण्डिकेट हाबी भएको राजनीति थप अपराधिकरणतिर गएको उनको विश्लेषण छ । ‘भोलिपर्सि पृथ्वीसुब्बाका लागि आवश्यक पर्दा पनि यो धोकेबाज हो भन्नेवाला छैनन्,’ उनले भने, ‘किनकी मनाङे अहिलेको राजनीतिको प्रवृति हुन् । यहाँको राजनीतिक चरित्र यस्तै छ ।’
राजनीतिकशास्त्री प्रा.डा. उमानाथ बरालले स्वार्थ मिलेपछि राजनीतिमा जतिबेला जे पनि हुन सक्छ भन्ने मनाङेले देखाएको बताए । ‘अहिले देख्दा संसद बचेको देखिन्छ तर मनाङेहरु व्यवस्थाका लागि घातक हुन्, राम्रा उदाहरण होइनन्,’ उनले अनलाइनखबरसँग भने, ‘अहिले नेपाली राजनीतिक दलभित्र मनाङेभन्दा पनि खराब प्रवृति भएका मान्छे छन् र यो स्थिति आएको हो ।’ मनाङेहरुको उत्पादन गर्ने यहीँका राजनीतिक दल भएको उनको भनाइ छ । ‘मूल्यको राजनीति होइन, दीपक मनाङे एउटा प्रवृति हो,’ उनले भने, ‘मनाङेको काँधमा चढेर बनेको सरकारलाई पनि यो फाइदाजनक छैन ।’