घुस रकम फालेर फरार भएको आरोप लागेका धनुषाको बटेश्वर गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर राउत घर फर्केका छन् । गएको फागुन १७ गते ८ घुसबापतको भनिएको ८ लाख रुपैयाँ फालेर अख्तियारको टोलीलाई छलेर उम्किएका राउत तीन महिनापछि शुक्रबार घर फर्केका हुन् ।
घर फर्किएपछि एमालेका नेता कार्यकर्ताहरू उनलाई फूलमालाले स्वागत गरेका थिए । माधव नेपाल पक्षको सहयोगमा स्थानीय तहको निर्वाचनमा टिकट पाएर विजयी भएका उनी पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओली खेमामा लागेका छन् ।
यसअघि विभिन्न समयमा विरोध गर्ने नेपाल पक्षीय स्थानीय नेताहरूसमेत उनको स्वागत गर्न पुगेका थिए । अख्तियारको केन्द्रीय कार्यालयबाट खटिएको टोलीले गाउँपालिका कार्यलयको भवन निर्माण गरेको भुक्तानीका लागि ठेकेदारबाट ८ लाख रुपैयाँ घुस लिएको अख्तियारले बताएको थियो ।
अख्तियारको टोलीले अध्यक्ष राउतलाई घुस लिएको स्थान महेन्द्रनगरबाट पछ्याएपछि बाटोमै पैसा फालेर फरार भएका थिए । गाउँपालिका अध्यक्ष पक्राउ नपरे पनि बटेश्वर बजारबाट उनी चढ्ने गाडीसहित चालक वीरबहादुर मगरलाई अख्तियारले नियन्त्रणमा लिएको थियो । पछि फेरि हाजिर हुने सर्तमा उनलाई छोडिएको थियो ।
तर, सर्वोच्च अदालतले अख्तियारले गरेको सबै स्टिङ्ग अप्रेशन बदर गर्ने फैसला गरेपछि राउतले समेत राहत पाएका छन् । यद्यपि स्थानीयले भने उनको विरोध गरिरहेको छ ।
प्रकाशित मिति: शनिबार, जेठ २९, २०७८, १५:३९:५०