नेपालगञ्जस्थित भेरी अस्पतालको कोभिड वार्डमा कोरोना संक्रमित बिरामीको जाँच गर्दै चिकित्सक । तस्वीर- भेषराज बस्नेत, रासस
काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाबाट संक्रमित हुने भन्दा निको हुनेको संख्या बढी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कूल १६ हजार ८१४ नमूना परीक्षण गरिएकामा पाँच हजार ४२ जनामा संक्रमण पुष्टि भएको छ । यसैगरी निको हुनेको सख्या आठ हजार २४३ छ । यस आधारमा क्रमशः निको हुनेको संख्यामा बढोत्तरी भएको छ ।
मन्त्रालयका अनुसार २४ घण्टामा पिसिआर बिधिबाट ११ हजार ४७१ र इन्टिजेन बिधिबाट पाँच हजार ३४३ नमूना परीक्षण गरिएको थियो । यस्तै, नेपाली सेनाले विभिन्न मितिमा गरेको शव व्यवस्थापनसहित ६८ जनाको निधन भएको छ । हालसम्म कूल सात हजार ७९९ जनाको कोरोनाबाट दुःखद निधन भएको छ ।
हालसम्म कूल पाँच लाख ८५ हजार १०० कोरोना सङ्क्रमित भएकामा चार लाख ८४ हजार ३७३ जना निको भएका छन् । यस आधारमा कूल निको हुने दर ८२.८ प्रतिशत छ ।
काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा १३ हजार १५९ सक्रिय सङ्क्रमित छन् । एक लाख ७८ हजार ६६२ जना निको भएका छन् भने एक हजार ६७६ जनाको निधन भएको छ ।
यस्तै, भक्तपुरमा तीन हजार ७६७ जना सक्रिय संक्रमित छन् भने १६ हजार ५९४ जना निको हुँदा ३३४ जनाको ज्यान गएको छ । ललितपुरमा पाँच हजार ११८ जना सक्रिय संक्रमित रहँदा २९ हजाार ६६ जना निको भइसकेका छन् । कोरोनाबाट जिल्लामा ४७४ जनाको ज्यान गएको छ ।