म्यानमारको सैन्य प्रशासनले अपदस्थ नेतृ आङ साङ सू चीविरुद्ध सबैभन्दा गम्भीर भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ । जसलाई सू चीको दल नेशनल लिग फर डेमोक्रेसीले सू चीलाई फसाउन लगाइएको भुट्टा आरोप भनेको छ ।
सैनिक प्रशासनले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै सू चीलाई घुसको रूपमा नगद र सुन लिएको आरोप लगाइएको जानकारी गराएको छ ।
यस आरोपमा सू ची दोषी पाइएको खण्डमा १५ वर्ष जेल सजाय हुनसक्नेछ । यसबाहेक उनीमाथि अवैध रूपले सञ्चार सेट आयात गर्ने र सार्वजनिक अशान्ति पैदा गरेको आरोपमा पनि मुद्दा दर्ता गरिएको छ ।
१ फेब्रुअरीमा सैन्य प्रशासनले सत्ताको बागडोर जम्हालेपछि सू चीलाई नियन्त्रणमा लिएको थियो । त्यसयता नजरबन्दमा भएकी सू ची अदालतमा अत्यन्त कम देखिएकी छन् । उनको दलका दर्जनौँ नेता तथा कार्यकर्तालाई पनि विभिन्न आरोपमा पक्राउ गरिएको छ ।
म्यानमारमा सेनाले सत्ताको बागडोर सम्हालेसँगै भएका प्रदर्शनमा सू चीलाई सघाएको आरोपमा सयौँ नागरिकको हत्या गरिएको छ ।
प्रकाशित मिति: बिहीबार, जेठ २७, २०७८, २२:५९:२२