सरकारले सूचना तथा सञ्चार प्रविधि मन्त्री नैनकला थापालाई सरकारको प्रवक्ता तोकेको छ। बिहिबार बसेको मन्त्रिपरिषद बैठकले नवनियुक्त सञ्चार मन्त्री थापालाई प्रवक्ता तोकेको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीले थापासँगै ७ मन्त्री र १ राज्यमन्त्रीलाई बिहिबार नियुक्त गर्दै २५ सदस्यीय मन्त्रीमण्डललाई पूर्णता दिएका हुन्।
लामो समयपछि सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री ओलीले निर्धक्क भएर काम गर्नसमेत सबै मन्त्रीहरुलाई निर्देशन दिएका छन्।
साथै उनले प्रवक्ताबाहेक अरूलाई मन्त्रिपरिषदका सूचना नभन्न समेत भनेका छन्।
‘जनताको काम निर्धक्क भएर इमान्दारपूर्वक गर्नुहोस्। संविधान कानुन र विधिलाई ख्याल गरेर गर्नुहोस् भन्नुभएको छ,’ एक मन्त्रीले सेतोपाटीसँग भने, ‘प्रधानमन्त्रीज्यूले मन्त्रिपरिषदको आचारसंहिताबारेसमेत जानकारी गराउनुभएको छ। बैठकका निर्णयहरु प्रवक्तामार्फत मात्र सार्वजनिक हुने भएकाले अरूलाई नभन्नसमेत निर्देशन दिनुभएको छ।’
प्रकाशित मिति: बिहीबार, जेठ २७, २०७८, २२:०६:००