हामीले हरेक दिन दिनभरका महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं। आज पनि हामीले यस्तै समाचारहरु प्रस्तुत गरेका छौं।
मन्त्रिपरिषद् विस्तारविरुद्धका मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। यद्यपि सर्वोच्चले मन्त्रिपरिषद् पुनर्गठन गर्नुको कारण भने माग गरेको छ । दुवै पक्षलाई असार ८ गते छलफलका लागि बोलाउँदै सर्वोच्चले सोही दिनलाई मुद्दाको पेसीसमेत तोकेको छ। सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ बुधबार हुने भएको छ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सभाबाट विश्वासको मत पाएका छन्। नेकपा माओवादी केन्द्रको संसदीय दलका नेतासमेत रहेका भट्टले मंगलबार प्रदेश सभा बैठकमा नेकपा एमाले खनाल–नेपाल पक्षीय सासंदसहितको मतसहित विश्वासको मत प्राप्त गरेका हुन्। कांग्रेसका १२ जना सांसदले भने मुख्यमन्त्रीलाई साथ दिने बताउँदै आएपनि मत भने हालेनन्। यसैबीच नेकपा एमाले मुख्यमन्त्री एवं माओवादी नेता त्रिलोचन भट्टलाई विश्वासको मत दिने माधवकुमार नेपाल पक्षका सांसदलाई बर्खास्त गर्ने तयारी गरेको छ। जसमा एमालेका २४ मध्ये १७ जनाले भट्टलाई मत दिएका छन्।
मंगलबार नेप्से परिसूचकले पुनः नयाँ अलटाइम हाइ रेकर्ड बनाएको छ। यस दिन नेप्सेले गत आइतबारको रेकर्डलाई तोड्दै नयाँ रेकर्ड बनाएको छ। नेप्से दैनिक उकालो लाग्दा ३००० विन्दु नजिक पुगेको छ। आज ५३.४४ अंक बढेर २९६०.१४ विन्दुमा पुगेको हो । यो हालसम्मकै उच्च विन्दु पनि हो। यो रेकर्डसँगै मंगलबार ३० भन्दा बढी कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
सरकारले आगामी असार १ गतेबाट विद्यालयस्तरीय कक्षा संचालन गर्ने भएको छ । कोरोनाभाइरस महामारीले लगभग पूरै प्रभावित भएको शैक्षिक सत्र सिद्ध्याएर अब स्कूलहरूले असार १ गतेदेखि नयाँ सत्र सुरु गर्ने तयारीमा अघि बढेका छन्। धेरै समय भौतिक पठनपाठन रोकिएका कारण यो वर्ष पाठ्यक्रम केही सङ्कुचित पारिनुका साथै शैक्षिक सत्र दुई महिनाले लम्ब्याइएको थियो। यद्यपि, यस वर्षको पढाईको स्तर कस्तो रह्यो भन्ने प्रश्न भने सबैका लागि जटिल बनेको छ।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले विश्व समुदायलाई बढी मूल्य तिरेर खोप खरीद नगर्न आग्रह गरेको छ । कोभिड–१९ उपचारका क्रममा प्रयोग गरिने उत्पादनको स्तर पहिचान गर्नु पनि अतिआवश्यक रहेको डब्लुएचओको भनाइ छ। पछिल्लो समय मध्यस्थहरूले निर्माता कम्पनीले बेचेकोभन्दा अत्याधिक बढी मूल्यमा खोप बिक्री गरिरहेको सूचनाहरू पाएका उल्लेख गर्दै डब्लुएचओले चिन्ता जनाएको हो। यसप्रति विश्व स्वास्थ्य संगठनको ध्यानाकर्षण भएकोसमेत उल्लेख गरेको छ।
प्रकाशित: २५ जेष्ठ २०७८ २०:३० मंगलबार