पाँच कारण देखाउँदै प्रदेश १ सरकारलाई दिएको समर्थन नेकपा माओवादी केन्द्रले फिर्ता लिएको छ।
संसदीय दलका नेता ईन्द्रबहादुर आङ्बो ‘मौसम’ ले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको भन्ने पत्र केन्द्रका प्रमुख सचेतक झलकसिंह दर्लामीले प्रदेश संसद् सचिवालयमा आइतबार दर्ता गराएका छन्।
दलका नेता आङ्बोका अनुसार पत्रमा उल्लेखित समर्थन फिर्ता लिनुको कारण यस्तो छः
१. राष्ट्रपति र प्रधानमन्त्रीले चालेको असंवैधानिक कदमलाई मुख्यमन्त्री शेरधन राईले समर्थन गरेको र त्यसको मतियार बनेको।
२. यसभन्दा पहिले अविश्वासको प्रस्ताव राख्दा होस् वा सदनमा दर्ता हुँदा होस्, प्रस्तावलाई सामना नगरेको र मुख्यमन्त्री राईले संसद् छलेको।
३. कोभिड व्यवस्थापनमा पूर्णरूपमा असक्षमता प्रदर्शन गरेको र प्रदेश सरकारको उपस्थिति शून्य रहेको।
४. विकास निर्माणदेखि समग्र प्रदेश सरकार पूर्णरूपमा असफल भएको।
५. सुशासन र पारदर्शीता कायम गर्न नसकेको।
माओवादी केन्द्रले समर्थन फिर्ता लिए पनि प्रदेश सरकार भने ढल्ने स्थिति छैन। ९३ सांसद रहेको प्रदेश संसदमा नेकपा एमालेको सभामुखसहित ५१ जना सांसद छन्। त्यसमध्ये ओली पक्षका ३२ र माधव पक्षका १८ जना सांसद छन्।
कांग्रेसको २१ जना, टंक आङ्बुहाङलाई पदमुक्त गरेपछि माओवादी केन्द्रको १५ जना, जसपको ३ जना, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाको समान १÷१ जना सांसद छन्।
एमालेको माधव पक्षले समर्थन नगरेको अवस्थामा मात्रै प्रदेश १ सरकार ढल्ने अवस्था आउन सक्छ। नभए प्रदेश सरकार एकल बहुमतको आधारमा टिक्ने देखिन्छ।
प्रकाशित: २३ जेष्ठ २०७८ १९:४७ आइतबार