राष्ट्रिय जनमोर्चाका प्रदेश सभा सदस्य कृष्ण थापाको रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ।
राष्ट्रिय जनमोर्चाको पत्रका आधारमा गण्डकी प्रदेश सभाले थापालाई प्रदेशसभा सदस्यबाट पदमुक्त गरेको थियो। कारवाही लगत्तै उनले सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए।
थापाको रिटमा आफूमाथिको कारवाही नै गैरकानुनी रहेको र प्रदेश सभाले निकालेको सूचना संविधान र ऐन विपरित रहेको भन्दै अन्तरिम आदेशबाट प्रदेश सभा सदस्य पुनर्वहाली गर्नुपर्ने माग राख्दै शुक्रवार रिट दायर गरेका थिए। त्यस्तै उनले आफूले पार्टीको ह्वीप उल्लंघन नगरेको पनि बताएका छन्।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सभामा अविश्वास प्रस्ताव वा विश्वासको मतको सामना गर्ने भनेर जानकारी नै नगरेको अबस्थामा आफ्नो पार्टीले ह्वीप उल्लंघन गरेको भन्दै कारवाही गरिनुको कानूनी आधार नभएको उनको जिकिर छ।
थापाले विपक्षी गठबन्धनका कांग्रेस नेता कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर गरेका थिएनन्। थापाले सर्वोच्चमा रिट हाल्नुको पछाडी लुम्बिनीको नजिर पनि एक हो।
के थियो लुम्बिनीको नजिर ?
केहि समयअघि थापालाई जस्तै लुम्बिनीमा ४ प्रदेश सदस्यलाई यस्तै प्रकृतिको कारवाहीमा गरिएको थियो।
जसपाका लुम्बिनी प्रदेशका ४ जना सांसदले मुख्यमन्त्री शंकर पोखरेललाई साथ दिन खोजेको भन्दै पार्टीको पत्रका आधारमा उनीहरुलाई कारवाही गरियो। उनीहरुले सर्वोच्चमा रिट दायर गरे सर्वोच्चको अन्तरिम आदेशमार्फत उनीहरुको पुनर्वहाली भएको थियो।
यस्तै थापाले पनि आफूलाई सर्वोच्चले पुनर्वहाली गर्ने विश्वासका साथ रिट हालेका थिए। यदि थापालाई सर्वोच्चले पुनर्वहाली गरिदिए विपक्षी गठबन्धनको सरकार बनाउने योजनामा फेरि धक्का लाग्नेछ।
त्यसो त आगामी २७ गते गुरुङले संसदमा विश्वासको मत लिने प्रस्ताव राखेका छन्। यदि थापालाई सर्वोच्चले पुनर्वहाली नगरिदिए विपक्षी गठबन्धनको सरकार बन्नेछ। गुरुङ पदमुक्त हुनेछन्।
प्रकाशित: २३ जेष्ठ २०७८ ०९:५६ आइतबार