नेकपा एमालको खनाल–नेपाल समूहका चार नेताले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग मिल्न नसकिने सुझाव दिएका छन् ।
पोलिटब्यूरो सदस्यहरू जगन्नाथ खतिवडा र विजय पौडेल प्रकाश ज्वाला र केन्द्रीय कमिटी सदस्य राजेन्द्र राईले केपी ओलीले संविधानमाथि आक्रमण गरिरहेको ठहर गर्दै अब मिल्न नसकिने सुझाव दिएका हुन् । उनीहरूले ध्यानाकर्षण पत्र जारी गर्दै ओली नेतृत्वको सरकार संकटमा परेको र उनको लोकप्रियता पनि समाप्त भइसकेको बताएका छन् । उनीहरूले उनी विदेशी शक्तिको आडमा टिकिरहेको आरोप लगाएका छन् ।
“केपी ओली नेतृत्वको सरकार आज संकटमा परेको छ । उनको लोकप्रियता समाप्त प्रायः छ । देशभित्रको राननीतिक शक्ति सन्तुलन उनको विपक्षमा गइरहेको छ । तसर्थ उनी विदेशी शक्तिको आडमा टिकिरहेका छन् । उनीहरूको स्वार्थका लागि काम गरिरहेका छन् र स्वदेशी तथा विदेशी दक्षिणपन्थीको प्यादा बनेर देशको संविधानमाथि आक्रमण गरिरहेका छन् भन्ने विश्लेषण हाम्रो विचार समूहकै साझा ठहर हो भन्ने देशभरिकै कार्यकर्तालाई जानकारी छ । उनी र उनका समर्थकहरू यतिबेला प्रतिगमन र देशघातको नेतृत्व गर्दैछन्’ उनीहरूले सुझावमा भनेका छन् ।
उनीहरूले ओलीको अपराधजन्य कार्यहरूलाई ढाकछोप गर्ने गरी कुनै बहानामा जोगाइदिने, पार्टीमा विद्रोह गर्ने हजारौँ कार्यकर्ता तयार भएको बेलामा त्यसलाई तुहाइदिने कार्य नगर्न खनाल-नेपाल सुझाएका छन् । उनीहरूले अबको आश्यकता केपी सरकारको बहिरगमन र अन्य राजनीतिक पार्टीसँगको सहकार्य हुने बताएका छन् ।
‘ओलीको अपराधजन्य कार्यहरूलाई ढाकछोप गर्ने गरी कुनै बहानामा जोगाइदिने, पार्टीमा विद्रोह गर्ने हजारौँ कार्यकर्ता तयार भएको बेलामा त्यसलाई तुहाइदिने, अब केपी ओलीसँग मिल्न सकिँदैन भनेर निष्कर्ष निकाली अन्य राजनीतिक दलसँग सहकार्यको थालनी गरेको दिनदेखि नै घात गर्न थाल्ने कार्यले हामीप्रतिको विश्वसनीयता र व्यक्तित्वलाई मात्र समाप्त गर्दैन, समग्र राजनीतिलाई झन दूषित बनाउने समूहको रुपमा चित्रित हुनेछौँ । हामी आफैं आफ्नो एजेण्डा छोडेर नैतिक र वैचारिक रुपले घरको न घाटको बन्ने दिशामा हिँड्न थाल्यौँ भने हाम्रो राजनीतिक स्वत्व बाँकी रहँदैन,’ उनीहरूले भनेका छन्, ‘तसर्थ आजको आवश्यकता केपी सरकारको बहिर्गमन हो र राजनीतक दलहरूसँगको सहकार्य हो । यतातिर गंभीर ढंगले ध्यान जानुपर्दछ भन्ने हाम्रो ठहर छ ।’
प्रकाशित मिति: बिहीबार, जेठ २०, २०७८, २३:२४:००