नेपाल कम्युनिष्ट पार्टी एमालेबाट निष्कासनमा परेका नेता माधव नेपालले चुरे दोहन गरेर मुलुकको आधा जनसंख्यालाई भोकमरी, भूक्षय र डुबानमा पार्ने योजना जनघाती भएको आरोप लगाएका छन्।
नेपाल सरकारले अध्यादेशमार्फत ल्याएको आगामी आर्थिक वर्ष ०७८/७९ को बजेट वक्तव्यमा ‘खानीजन्य ढुंगा, गिट्टी र वालुवा निकासी गरि व्यापार घाटा कम गर्ने’ योजना समेटिएको विषयमा नेता माधव नेपालले सरकारले खुल्लम खुल्ला तराई मधेश क्षेत्रलाई मरुभूमि बनाउन लागेको आरोप लगाएका छन्।
उनले आज साँझ सामाजिक संजालमार्फत आधाभन्दा बढी नागरिकको बसोबास रहेको तराई क्षेत्रको जीवन र शिवालिक सभ्यता नै चुरे क्षेत्रमा निर्भर रहेको र त्यहि चुरे मासेर ढुंगा, गिट्टी र वालुवा निर्यात गरि व्यापार घाटा कम गर्ने योजना गम्भीर छ भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।
चुरे क्षेत्रको संरक्षण नगरि तराईको उर्वर भूमि, सिमसार र सिंगो मानव सभ्यता नै संकटमा पर्ने तथ्यलाई बुझेर नै आफूले आर्थिक वर्ष २०६६/६७ सालमा ‘राष्ट्रपति चुरे संरक्षण कार्यक्रम’को आरम्भ गरेको बताउँदै उनले सो कार्यक्रम राष्ट्रिय गौरवको आयोजनाका रुपमा कार्यान्वयन हुँदै आएको बताए।
उनले सरकारसँग यस्तो देश हित विपरितको र जनघाती निर्णय तत्काल सच्याउन मागसमेत गरेका छन्।
प्रकाशित: १९ जेष्ठ २०७८ २०:४५ बुधबार