हामीले हरेक दिन दिनभरका महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं। आज पनि हामीले यस्तै समाचारहरु प्रस्तुत गरेका छौं।
मंगलबार जनता समाजवादी पार्टीको उपेन्द्र यादव र बाबुराम भट्टराई पक्षले पार्टी अध्यक्ष महन्थ ठाकुरसहित चारजना नेतालाई निष्कासनको घोषणा गर्यो । त्यसको लगतै महन्थ ठाकुर पक्षले पनि उपेन्द्र यादवलाई कारबाही गरेको भन्दै उक्त पत्र निर्वाचन आयोगमा बुझाएको छ। पछिल्लो समय सत्ता समीकरणको खेलमा दलहरूले मोर्चावन्दी गर्ने क्रम बढेपछि अन्ततः जसपा विभाजनको संघारमा पुगेको छ। यद्यपि कानुनीरुपमा भने निर्वाचन आयोगले निर्णय पखाईको विषय बनेको छ।
विवेकशील नेपाली दलका संस्थापक नेता उज्वल थापाको मङ्गलवार निधन भएको छ। विवेकशील साझा पार्टीले पार्टीका संस्थापक संयोजक तथा तत्कालीन विवेकशील नेपाली दलका संस्थापक थापाको निधनले सिङ्गो पार्टी पंक्ति स्तब्ध भएको जनाएको छ । एक सुसंस्कृत युवा नेताका निधनले राष्ट्रिय राजनीतिमा अपूरणीय क्षति पुगेको विवेकशील साझाको निष्कर्ष रहेको छ। सडक प्रदर्शनलाई रचनात्मकता दिनेदेखि वैकल्पिक राजनीतिको सुरुवातकर्ताको रुपमा चिनिएका थापा नयाँ पुस्तामाझ सर्वप्रिय युवा नेताका रुपमा गनिएका थिए। यद्यपि, नेपाली राजनीतिमा ल्याएको परिवर्तनको तरङ्गलाई फैलाउन नपाउँदै उनी ४४ वर्षको अल्पायुमै संसारबाट बिदा भएका छन्।
अधिवक्ताहरूले न्यायाधिसहरूमाथि प्रश्न उठाएपछि प्रभावित बनेको प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमाथिको पेशी पुनः जेठ २३ गतेलाई सारिएको छ। विवाद बढ्दै गएपछि संवैधानिक इजलासबाट न्यायाधीश दीपककुमार कार्की र आनन्दमोहन भट्टराई अलग भएका छन् । संवैधानिक इजलासमा मंगलबार कार्की र भट्टराईले न्याय परिणाम मात्र नभइ प्रक्रियामा समेत निष्पक्षता हुनुपर्ने भएकाले आफू इजलासबाट अलग हुने बताएका हुन् । यससँगै अब, प्रधानन्यायाधिस चोलेन्द्र शमसेर राणाले पुनः वरिष्ठताका आधारमा नयाँ संवैधानिक इजलास गठन गर्ने भएका छन्।
चीनले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको ८ लाख डोज खोप नेपाल आइपुगेको छ । नेपाल वायु सेवा निगमको एयरबस ३३० बाट खोप नेपाल आएको हो । कोरोनाविरुद्ध लड्न चीनले दिएको १० लाख डोजमध्ये ८ लाख डोज खोप नेपाल आएको हो । एक साता अघि चिनियाँ राष्ट्रपति सि जिनफिङले राष्ट्रपति विद्यादेवी भण्डारीसँगको टेलिफोन संवादका क्रममा १० लाख डोज खोप नेपाललाई अनुदानमा उपलब्ध गराउने घोषणा गरेका थिए। यसैबीच उक्त खोपलाई स्वास्थ्य मन्त्रालयले ६० देखि ६५ वर्ष उमेर समूह र त्यसमा पनि उपत्यका बाहिरका स्थानलाई प्राथमिकतामा राख्ने जनाएको छ।
कोरोना भाइरसको महामारीकाबीच सरकारले अध्यादेशबाट आगामी २०७८/७९ का लागि जारी गरेको बजेटमा खेल क्षेत्रतर्फ सामान्य वृद्धि भएको छ । कुल १६ खर्ब ४७ अर्ब ५७ करोड रूपैयाँको बजेट सार्वजनिक गर्दा युवा तथा खेलकुद क्षेत्रमा २ अर्ब ७४ करोड रूपैयाँ बजेट विनियोजन भएको छ । अघिल्लो वर्षको तुलनामा खेलकुदको बजेटमा ३८ करोड रूपैयाँ वृद्धि हुँदा बजेटले विशेष गरी पूर्वाधार निमार्णमा जोड दिएको छ।
प्रकाशित: १८ जेष्ठ २०७८ २१:५७ मंगलबार