आदिवासी जनजाति साहित्यकार/लेखक महासंघले खुवालुङ फुटाउने सरकारी निर्णयको विराेध गरेकाे छ । महासंघका अध्यक्ष राजन मुकारुङ र महासचिव बुद्ध योन्जन लामाले जारी गरेकाे विज्ञप्तिमा सरकारले अध्ययादेशबाट ल्याएकाे बजेटमा किरातीहरूको आस्थासँग जोडिएको सप्तकोसीस्थित ‘खुवालुङ’लाई फुटाउने नीति लिएकाे भन्दै आपत्ति जनाइएकाे छ ।
यसैगरी, ताप्लेजुङको सुकेटार विमानस्थललाई ‘रवीन्द्र अधिकारी विमानस्थल’ र तेह्रथुमको चुहानडाँडा विमानस्थलाई आङ छिरिङ विमानस्थल बनाउने सरकारी घोषणाप्रति पनि संघले बिमती जनाएकाे छ ।
विज्ञप्तिमा भनिएको छ, ‘अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणको क्रममा जलयातायात योजनाअन्तर्गत रहेको बुँदा नं. ३०४ मा रहेको ‘कोशी नदीको चतरादेखि भोजपुरसम्मको जलयातायात सञ्चालन गर्न जलमामार्गमा रहेका अवरोध (खुवालुङ) हटाइनेछ’ र हवाइ पुर्वाधार अन्तर्गत बुँदा नं. ३५६ मा रहेको ‘ताप्लेजुङको सुकेटार विमानस्थललाई रवीन्द्र अधिकारी विमानस्थल र तेह्रथुमको चुहानडाँडा विमानस्थलाई आङ छिरिङ विमानस्थल बनाइनेछ’ भन्ने नीति तथा कार्यक्रमप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ र यसकाे हामी विरोध गर्दछौं ।’
प्रधानमन्त्री ओलीले गत फागुन ८ गते विराटनगरमा आयोजित आमसभामा खुवालुङलाई इंगित गर्दै उक्त ढुंगो क्रेन लगाएर फुटाउने र पानीजहाज चलाउने, नदीको बाटो क्लियर गर्ने अभिव्यक्ति दिएपछि खुवालुङ संरक्षणको पक्षमा आन्दोलन भएको थियो । त्यसपछि प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले खुवालुङ संरक्षणको लागि आफ्नो तर्फबाट भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाएका थिए । तर, राज्यका कार्यकारी प्रमुखबाट किराँती समुदायमाथि पुर्याएको भावनात्मक क्षतिलाई सच्याउनु सट्टा उल्टै नस्ट गर्ने नीति ल्याएर सरकारले नश्लीय राज्यसत्ताको नाङ्गो अनुहार देखाएको महासंघकाे आराेप छ ।
प्रकाशित मिति: मंगलबार, जेठ १८, २०७८, १२:२६:५०