सरकारले कोरोना खोपका लागि विदेशी दातृ निकायलाई सहयोग मागिरहेका बेला स्थानीय तहहरूले खोप खरिदको अनुमति माग्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचार गरेका छन् ।
नागरिकलाई आवश्यक खोप उपलब्ध गराउन भन्दै स्थानीय तहले मन्त्रालयलाई पत्र पठाउँदै खोप खरिदका लागि अनुमति मागेका हुन् । रुपन्देहीको तिलोत्तमा नगरपालिका, पाल्पाको रामपुर नगरपालिका र रम्भा गाउँपालिकाल खोप खरिदका लागि मन्त्रालयलाई पत्रचार गरेका हुन् ।
नागरिकको सुरक्षाभन्दा ठूलो केही नभएको भन्दै स्थानीय तहले खोप आफैँ खरिदको अनुमति माग गर्दै मन्त्रालयमा पत्राचार गरेका हुन् । तिलोत्तमा नगरपालिकाले ७८ हजार जनसंख्याका लागि नगरपालिकाको आन्तरिक स्रोत साधनबाट समेत खर्च गर्ने गरी कोभिडविरुद्ध डब्लूएचओबाट प्रमाणित गरिएको खोप ल्याउन कूटनीतिक पहल गरिदिन भन्दै पत्रचार गरेको छ ।
तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरेले स्वास्थ्य सेवालाई मौलिक हकमा रुपमा स्वीकार गरिएकाले आम नगरवासीलाई स्वास्थ्य संकटबाट बचाउन खोप खरिदका लागि मन्त्रालयमा पत्रचार गरिएको बताए । खोप खरिदका लागि निजी क्षेत्रलाई अनुमति दिनेबित्तिकै आईसीआरसीले खोप ल्याउने तयारी गरको र नगरपालिकालाई दिने भनेकाले पत्रचार गरिएको उनले बताए ।
पाल्पाको रामपुर नगरपालिकाले पनि ५० हजार खोप खरिदका लागि मन्त्रालयलाई पत्रचार गरेको छ । नगरप्रमुख रमण बहादुर थापाले ९ जेठमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र पठाउँदै नगरपालिकाकै आन्तरिक स्रोतबाट खोप खरिद गर्न सकिने भएकाले खोप उपलब्धका लागि पत्रचार गरिएको बताए । तर, नगरपालिकाले मन्त्रालयको जवाफ हालसम्म नपाएको उनले बताए ।
प्रकाशित मिति: आइतबार, जेठ १६, २०७८, २१:१४:००