नेकपा एमालेका महासचिव एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले माधव नेपाल समूहसँग एकता गर्न नसकिने बताएका छन । राष्ट्रियसभाका लागि आज भएको उपनिर्वाचनमा देखिएका हर्कतले नेपाल पक्षसँगको एकताको वातावरण बिग्रिएको टिप्पणी उनले गरेका छन । एमाले उम्मेदवार रामबहादुर थापालाई गठबन्धनका डा. खिमलाल देवकोटाले पराजित गरेपछि उनले सामाजिक सञ्जालमा आक्रोशपूर्ण टिप्पणी लेख्दै राष्ट्रियसभाको निर्वाचनमा देखिएको हर्कतहरूले एकता धमिलिएको बताएका हुन ।
उनले पार्टीविरुद्धमा गरिएका अपराधपूर्ण कामले पार्टी विधान, पद्धति, प्रक्रिया, नीति, निर्णय र निर्देशनको वकालत गर्दै भइरहेका नाटक मञ्चनको मुकुण्डो पनि उदांगो भएको बताएका छन । ‘आफ्नै पार्टीका अध्यक्षलाई संसदमा विश्वासको मत दिन उपस्थित नहुने, कर्णालीको प्रदेशसभामा फ्लोर क्रस गर्ने, लुम्बिनीमा त्यसैको पुनरावृत्ति गर्न खोज्ने, सूर्य चिन्हबाहक आफ्नै उम्मेदवारलाई हराउन विपक्षीहरूको गोटी बन्ने तर अनेक भ्रमपूर्ण र आपराधिक समाचारहरू सम्प्रेषण गर्ने जस्ता निर्लज्ज र अपराधपूर्ण कामहरू कम्युनिष्ट आन्दोलन र संसदीय लोकतान्त्रिक आन्दोलनका लागि लज्जास्पद विषय हुन,’ उनले भनेका छन ।
उनले आजको निर्वाचनले विरोधी गठबन्धनका बाबजुद एमाले एक्लै चुनौतीको सामना गर्न सक्षम छ भन्ने स्पष्ट भएको उल्लेख गरेका छन । उनले विषम अवस्थामा पार्टी विभाजनविरुद्ध दृढतापूर्वक उभिँदै पार्टी र आन्दोलनको रक्षामा जुट्न आह्वान पनि गरेका छन ।