नेपाली सेना संक्रमितहरुलाई बचाउन अमृत समान मानिएको अक्सिजनको व्यवस्थापन लगायतका सेवा मूलक कार्यमा जुटेको छ । एमआई–१७ हेलिकप्टरमार्फत काठमाडौंबाट ४० वटा खाली सिलिन्डर बाराको अक्सिजन प्लान्टमा भरेर सेनाले काठमाडौं ल्यायो । भैरहवामा अक्सिजनको हाहाकार भएपछि सेनाले सिमरा र चितवनबाट स्काई ट्रक प्रयोग गरेर भैरहवामा ४० सिलिन्डर अक्सिजन पुर्यायो । सुनसरी, पोखरा र विराटनगरबाट सैन्य विमान कासा र सडकमार्गबाट ८३० सिलिन्डर अक्सिजन सेनाले काठमाडौंमा ल्याएको छ ।
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को निर्णय अनुसार ती प्लान्ट सेनाले सञ्चालन गरेको हो । थानकोटमा रहेको अक्सिटेक अक्सिजन प्लान्टमा पदिकको कमाण्डमा ७ जना सैनिक खटिएका छन । काभ्रेको पनौतीस्थित नवज्योति अक्सिजन प्लान्टको सञ्चालनका लागि बिल्लादारको कमाण्डमा ८ जना सैनिक खटिएका छन ।
बन्द रहेका अक्सिजन प्लान्टको मर्मतपछि सेनाको प्राविधिक सहयोगमा ती प्लान्ट सञ्चालनमा आएका हुन । ‘पाँचवटा प्लान्ट मर्मत गरेर अपरेटर र प्राविधिक पठाएर हामीले रन गराएका छौं’ सैनिक प्रवक्ता पौडेलले भने, ‘त्यहाँबाट उत्पादन हुने अक्सिजनको वितरण स्वास्थ मन्त्रालयले तोकेअनुसार हुन्छ ।’
सेनाले रुपन्देहीको छिपागढस्थित शंकर अक्सिजन प्रालि, ठुटेपीपलस्थित लुम्बिनी अक्सिजन उद्योग र बागदुराको लुम्बिनी अक्सिजन आफ्नो प्राविधिक सहयोगमा सञ्चालन गरिरहेको छ । रुपन्देहीका ३ अक्सिजन प्लान्टमा अधिकृतको कमाण्डमा ३५ जना सैनिकलाई परिचालन गरिएको छ ।
सीसीएमसी, स्वास्थ्य मन्त्रालय र गृहमन्त्रालयसँगको समन्वयमा अक्सिजन प्लान्टको सञ्चालन र सिलिन्डर ढुवानीमा सहयोग गरिएको सैनिक प्रवक्ता पौडेलले रातोपाटीलाई बताए ।
महामारीको जोखिम कम गर्न फ्रन्टलाइनमा खटिँदा दोस्रो चरणमा २७० जना सैनिकमा संक्रमण देखिएको छ । ‘हाम्रा कर्मचारीमा पहिलेभन्दा संक्रमण केही बढेको छ’ सैनिक प्रवक्ता पौडेल भन्छन्, ‘अहिले २७० जना सैनिक कर्मचारीमा संक्रमण देखिएको छ ।’