बेलायतमा इन्डियन भेरिएन्टको संक्रमण निरन्तर बढ्दै गएको सरकारी तथ्यांकले देखाएको छ । पछिल्ला दुई दिनमा मात्र यो भाइरस २८ प्रतिशतले बढेर संक्रमितको संख्या करिब तीन हजार पुगेको छ ।
इंग्ल्याण्डका २३ वटा इलाकामा फैलिएको उक्त भाइरस बेडफोर्ड, बर्नली, हन्स्लो, किर्कलेस, लेइस्टर, नर्थ टाइनसाइड लगायत क्षेत्रमा बढी देखिएको छ । सोमबार करिब २३ सय केस भएकामा बुधबारसम्म २९६७ इण्डियन भेरियन्टका केस भेटिएको सञ्चारमाध्यमले जनाएका छन ।
बेलायतमा पछिल्लो २४ घन्टामा दुई हजार ६९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नयाँ थपिएका संक्रमितसंगै संक्रमितको कुल संख्या ४४ लाख ५२ हजार ५२७ पुगेको छ । संक्रमित संख्या अघिल्लो दिनको तुलनामा केहि वृद्धि भएको हो ।
पछिल्लो २४ घन्टामा ३ जना संक्रमितको मृत्यु भएको छ । योसंगै बेलायतमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या एक लाख २७ हजार ६९४ पुगेको छ ।
५ करोड ७८ लाख बढी डोज खोप वितरण
बेलायतमा हालसम्म खोपको पहिलो र दोस्रो गरि कुल ५ करोड ७८ लाख ५५ हजार ९५८ डोज वितरण भएको छ । जसमध्ये ३ करोड ६९ लाख ८५ हजार ५०५ जनाले पहिलो र दुई करोड ८ लाख ७० हजार ४५३ जनाले खोपको दोस्रो डोज लगाएका छन ।