कोरोना भाइरसको दोश्रो लहरका कारण नेपालमा दैनिक ९ हजार भन्दा बढी संक्रमित देखिएका छन् । संक्रमण भएका मानिसहरुलाई अक्सिजन अत्यावश्यक देखिएको छ । तर, देशका विभिन्न जिल्लामा अक्सिजनको अभाव भएका खबर सार्वजनिक भैरहेका छन ।
अक्सिजनको अभाव भएको खबर सार्वजनिक भएसँगै नेपाली चलचित्रका कलाकारहरु पनि अगाडि सरेका छन । सामाजिक कार्यमा आफूलाई सक्रिय बनाउँदै आएका नायक पुष्प खड्काले सुदुर पश्चिमका विभिन्न जिल्लामा कोरोना संक्रमित भएर उपचार गराइरहेका मानिसहरुका लागि ५० सिलिन्डर अक्सिजन सहयोग गरेका छन । पुष्पले कैलालीको मैनादवी फाउन्डेशनसँग सहकार्य गर्दै अक्सिजन खरिदका लागि रकम सहयोग गरेका हुन । पुष्पले भने– ‘दैनिक अक्सिजनको अभावका कारण मानिसहरुले ज्यान गुमाइरहनु परेको छ । यस्तो अवस्थामा हरेक मानिसले आफूले सक्ने सहयोग गर्न आवश्यक छ ।’
पुष्पले आफू अझै पनि विभिन्न संघ संस्थासँग सहकार्य गर्दै सहयोगका लागि अगाडि बढ्ने बताए । उनले भने– ‘मलाई विभिन्न मानिसहरुबाट म्यासेज आइरहेको छ । कतिपयले अक्सिजनको अभाव भएको त कतिपयले आर्थिक अभाव भएको म्यासेज पठाइरहनुभएको छ । मैले सक्ने सहयोग गर्नेछु ।’
नायक पुष्प खड्का संग केही समय अगाडिको अन्तरबार्ता
पछिल्लो समय तपाईं म्युजिक भिडियोमा अलि धेरै व्यस्त हुनुभएको छ नि?
– हो, अहिले म्युजिक भिडियोमा अलि बढी व्यस्त भइरहेको छु । किनभने कोरोना महामारीका कारण तुरुन्त चलचित्रको काम सुरु हुने सम्भावना छैन । कोरोनाबाट सुरक्षित साथ काम गर्न सकिने अवस्था र सानो टिम भएकाले पनि यता अलि बढी सक्रिय भएको हुँ । हुन त पहिला पनि गरिरहेकै थिएँ ।
तर, तपाईंले म्युजिक भिडियोमा झ्याम्मै पैसा लिने गर्नुहुन्छ भन्ने सुनिन्छ त?
– लिँदाखेरि एक लाख, एक लाख २० हजार लिने नै हो । तर, परिवेश हेरेर सहज वातावरण बनाउन सकिने अवस्थासम्म आफूलाई घटाएको छु । महामारीका वेलामा पनि कलाकारले धेरै पारिश्रमिक लिएर स्टारडम देखाउन खोजेको भनेर आलोचना भइरहेको छ । यसले निर्मातालाई दबाबमा त राख्ने नै भयो साथमा चलचित्रको बजेट पनि महँगो हुन्छ, होइन र?
चलचित्र वा म्युजिक भिडियोमा बढी खर्च हुने भनेको कलाकारमाथि नै हो । यो वेला महँगो पारिश्रमिक लिएको समाचारभन्दा पनि उद्योगलाई कसरी गतिमा लैजाने भन्नेतिर ध्यान दिनुपर्छ । सात महिनादेखि हल बन्द छन । जनता घरमा थन्किएर बसेका छन । यस्तो वेला हामी सबैको चुनौती भनेको चलचित्र कसरी चलाउने र दर्शकलाई हलमा कसरी फर्काउने भन्ने नै हो । निर्माताहरू चलचित्र निर्माण गरेर उद्योगलाई चलायमान गराउन कोसिस गरिरहेका छन । यस्तो अवस्थामा हामी पैसामुखी हुनुहुन्न । म स्वयं नै चलचित्रमा आफ्नो पारिश्रमिक घटाएर सेयरमा बसेको छु । हामीले जिम्मेवारी बिर्सनुहुन्न, व्यक्तिगत नाफा मात्र हेर्नु भएन ।
चलचित्र क्षेत्र ठप्प भएपछि दक्ष प्राविधिक पलायनको संघारमा छन । यसले सिंगो उद्योगलाई नै घाटामा पुर्याउछ । उनीहरूलाई कसरी सहयोग भइरहेको छ?
– व्यवसाय बन्द भएका कारणले सबै प्राविधिकलाई गाह्रो छ । म्युजिक भिडियो सक्रिय भए पनि चलचित्र क्षेत्र अनिश्चित छ । यो अवस्थामा सबैलाई सकेको साथ दिनुपर्छ, प्राविधिकलाई जोगाउनुपर्छ । सपनाको कुरा त पूरा गर्न सक्दैनौँ होला, तर दैनन्दिन आइपर्ने आवश्यकतालाई हामीले आफूले सकेको ठाउँबाट सहयोग गर्नुपर्छ ।