दुई वर्षअघि सातै प्रदेशमा विशिष्टकृत बाल अस्पताल बनाउन जग्गा खोजिरहेका डा. भगवान कोइरालाले साविकको लेखनाथ नगरपालिका रहेको भवन रोजे । भवनसँगै रहेको ३७ रोपनी जमिनमा अस्पताल बनाउन २०७६ फागुन ११ गते सम्झौता गरे । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई साक्षी राखेर डा. कोइराला र पोखरा महानगरका मेयर मानबहादुर जिसीले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।
मेयर जिसी र डा. कोइरालाबीच सम्झौता भएपछि लेखनाथका वडा अध्यक्षहरुले सल्लाहबिना नै सम्झौता गरेको भन्दै असन्तुष्टि जनाए । काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थका संस्थापक अध्यक्ष रहेका डा. कोइरालाले अस्पतालको काम अघि बढाएनन ।
डा. कोइरालालाई अस्पताल बनाउन दिएको जग्गा र भवनमा कुनै काम अघि नबढेपछि पोखरा महानगरले गत वर्ष सोही जग्गामा महानगरीय अस्पताल बनाउने निर्णय गर्यो । तर काम भने अघि बढेको थिएन । महानगरको कार्यपालिका बैठक र नगरसभाबाट उक्त निर्णय भएको थियो । नगरपालिकाकै अर्को अस्पताल शिशुवा अस्पताल मातहत रहनेगरी लेखनाथ नगरपालिका भवनमा महानगरीय अस्पताल बनाउने निर्णय भएको वडाध्यक्ष गुरुङले बताए ।
पोखरा महानगरले अहिले सोही भवनमा कोभिड–१९ का बिरामी राख्ने गरी अस्पताल बनाउन थालेको छ । उक्त भवनमा रहेको पोखरा–२७ को वडा कार्यालय तालचोकस्थित छुट्टै भवन भाडामा लिएर चलाउने निर्णय गरेको छ । भाडामा लिएको भवनमा अहिले पार्टेशनको काम अघि बढाउन लागेको वडाध्यक्ष गुरुङले बताए ।
नगरपालिकाको भवनलाई अस्पताल बनाउन महानगरले थालेको प्रयासलाई लायन्स क्लब अफ इन्टरनेशनल ३२५ बि १ ले सघाएको छ। आइसोलेसनमा ५० बेड, सर्जिकल सामाग्री, ३ वटा भेन्टिलेटर, ६ वटा आइसियु बेड लगायत बनाउन सहयोग गरेको लायन्सका सिनियर लिडर मोहनबाबु खड्काले बताए।
महानगरका मेयर मानबहादुर जिसीले १ सय बेडको कोभिड अस्पताल बनाउन झण्डै २ करोड खर्च लाग्ने बताए । ‘हामीले विभिन्न संघ, संस्थासँग मिलेर कोभिड अस्पताल बनाउन लागेका छौं’, उनले भने, ‘त्यसका लागि महानगरले मात्रै २ करोड जति खर्च गर्छ।’ उनले पनि २ साताभित्रै बिरामी राख्नेगरी काम अघि बढाएको बताए ।