अध्ययनका लागि जापान आएकी नेपाली चेली सविना पौडेल पाँच दिनदेखी बेपत्ता भएकी छिन । जापानको नागोयामा बस्दै आएकी सविना मे १३ तारिखबाट संपर्कबिहिन भएकी हुन । नेपालस्थित परिवारका सदस्यले सविनासँग बिहीवार रात १० बजेर ४५ मिनेटपछि परिवार तथा साथीहरुसँग संपर्क नरहेको र खोजी गर्दा पत्ता लगाउन नसकेको जानकारी दिएका छन ।
सविना बसन्ती खत्री नाम गरेकी नेपाली युवतीसंगै बस्दै आएकी थिइन । बसन्तिका अनुसार सविना बिहीवार दिउसो कोठाबाट निस्किएपछि उनको पनि कुनै संपर्क भएको छैन । सविनाले आफुलाई उक्त दिन बिहान साँझपख घुम्न जाने बताएपनि दिउँसो भने समय नमिलेकाले जान नपाउने र आफु केही ढिलो कोठामा आउने बताएको जानकारी दिएकी छिन ।
हाल सोधपुछ तथा अन्य जानकारी लिन प्रहरिले बसन्तीलाई आफ्नो नियन्त्रणमा राखेकाले थप जानकारी लिन सकिएको छैन । बेपत्ता सविनाकी आमा रत्न माया बस्नेतले नेपाली राजदूतावासलाई बेपत्ता छोरी खोजी गरिदिन निबेदन पठाउनु भएको छ । निबेदन पत्रमा आमा रत्नमायाले छोरीसँग उनको मोबाइलमा पनि संपर्क हुँन नसकेको उल्लेख गर्दै सविनाले अध्ययन गरेको बिद्यालय लगायत विवरण उपलब्ध गराउनु भएको छ ।
सविनाले हालैमात्र विद्यार्थी भिषा परिवर्तन गरेर जापानी कम्पनीमा काम थाल्ने तयारी गरेकी थिईन । सविना पार्ट टाईम काम गर्दै आएको कम्पनीले पनि उनले कुनैपनि जानकारी नदिएको र सम्पर्क हुन नसकेको बताएको छ । सबिनाको भिषा कम्पनीमा परिवर्तन गर्नको लागि उनले वकिल मार्फत भिषा आवेदनका लागि कागजात समेत बुझाई सकेकी थिईन ।
सविनाको परिवार नेपाल स्थायि घर ओखल्ढुङ्गा लिखु गाउँपालिका ८ भएपनि सपरिवार हाल काठमाडौं नागार्जून १ रानीवनमा बस्दै आएका छन । सविनाले जापानको नागोया कलेज अफ चाईल्ड वेलफेयर एण्ड विजनेशमा अध्ययन गरेकी थिईन ।