‘यस्तो महामारीको बीचमा पाँच वटा मन्त्रालयको मन्त्री मुख्यमन्त्री हुनुहुन्छ, यसले गर्दा संकट सार्वजनिक रुपमा व्यक्त भएको छ’, कर्णालीको समस्या बारे कर्णाली प्रदेश सभामा नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेल भन्नुहुन्छ ।
प्रदेश सभामा एमाले सांसद्लाई फ्लोर क्रस गराएर आफ्नो सत्ता टिकाउनु भएका मुख्यमन्त्री महेन्द्र बहादुर शाही सत्ता जोगिए पनि थप राजनीतिक संकटमा पर्दै जानुभएको छ । सत्ता साझेदार नेपाली कांग्रेस र आफ्नै पार्टी भित्र चित्त बुझाउन नसकेपछि उहाँले आफ्नै पार्टीका तीन जना मन्त्रीलाई मन्त्री पदमा नियुक्त गरेपनि सपथग्रहण नै नगराई पदमुक्त गर्नुभएको छ ।
कर्णालीको यो घटनाक्रमले अन्योलता र अनिश्चितताको नै संकेत गर्ने एमाले नेता कँडेलको ठम्याई छ । तर पनि कुनै ठाउँमा पुगेर फेरि पनि माओवादी र कांग्रेसको मिलेमतो हुनसक्ने उहाँको अनुमान छ । यसले कर्णालीको विकासमा सकारात्मक प्रभाव भने नपार्ने उहाँले बताउनुभयो ।
कांग्रेसले माओवादीलाई विश्वासको मत दिएपनि सत्ताको लागि लगातार वार्गेनिङ नै गरेको कंडेलले बताउनुभयो । ‘हिजो कांग्रेसले माओवादी सरकारलाई विश्वासको मत दियो तर, सदन भित्र कांग्रेस प्रतिपक्षी बेञ्चमा नै बस्यो, यो विडम्बनाको कुरा हो’, उहाँले भन्नुभयो ।
आफूले यो कुरा प्रदेश सभा बैठकमा पनि उठाएको उहाँले स्मरण गराउनुभयो । ‘सदन भित्र को कहाँ बस्छ त्यसले के गर्छ भन्ने कुराको ठेगान लाग्छ, विश्वासको मत चाहीँ उसले माओवादी सरकारलाई दिन्छ, तर प्रतिपक्षमा नै बस्छ, उसले संसदीय मूल्य मान्यतालाई बिर्सिएर वार्गेनिङको कुरा गरेको होला भन्ने मलाई त्यतिबेला नै लागेको थियो’, कँडेलले भन्नुभयो ।
माओवादी र कांग्रेसका बीचमा के कुरा भएका छन् भन्ने कुरा अझै सार्वजनिक नभएको कँडेलेको भनाइ छ । मुख्यमन्त्रीले नयाँ मन्त्री नियुक्त गरेर सपथ नै नगराई बर्खास्त गर्नु अस्थिरता र लज्जाको विषय भएको उहाँले बताउनुभयो ।
एमाले प्रदेश सभामा प्रमुख प्रतिपक्षमा रहेकोले सरकारका राम्रा कामको समर्थन र गैरजिम्मेवार कामको जनताका बीचमा आफ्ना धारणा राख्ने उहाँले प्रष्ट पार्नुभयो । ‘जुन कुरा अहिले पनि हामीले गरिरहेका छौँ’,उहाँले भन्नुभयो ।
सरकार अस्थिर भएकै कारण कर्णालीमा वेथिति बढ्दै गएको कँडेलले बताउनुभयो । यसको प्रत्यक्ष प्रभाव कोभिड नियन्त्रणमा देखिएको उहाँको भनाइ छ ।
महामारीको बेला समेत प्रदेशको सुविधा सम्पन्न अस्पतालले बिरामी भर्ना लिन्न भन्ने सम्मको अवस्था आएको उहाँले बताउनुभयो । ‘हामीले त्यसको विरोध गर्यौँ, त्यसलाई आज उसले करेक्सन गरेको छ’, उहाँले भन्नुभयो ।
प्रदेश कोभिड संक्रमणको चपेटामा परेको बेला साधन स्रोतको अभाव भएकोले त्यसको व्यवस्थापनमा एमाले जुटेको कँडेलले बताउनुभयो । संघीय स्वास्थ्य मन्त्रीलाई भेटेर कर्णालीमा सामाग्री उपलब्ध गराउन र अक्सिजन प्लान्ट स्थापनाको लागि आफूहरुले आज अनुरोध गर्न लागेको उहाँले जानकारी दिनुभयो ।
प्रदेश सरकारसँग स्रोतको अभाव नभए पनि त्यसको उचित परिचालन गर्न नसकेको कँडेलको भनाइ छ । ‘बजेट परिचालन र व्यवस्थापनको समस्या छ, त्यसैले विपत्को समस्या समाधानको लागि हामीले प्रयत्न गरिरहेका छौँ’, कँडेलले भन्नुभयो ।