काठमाडौं । आगामी भदौ १२ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘पार्वती’ले प्रदर्शनअघि नै अन्तर्राष्ट्रिय बजारमा सफलता हात पारेको छ। निर्माण पक्षका अनुसार फिल्मको अमेरिका प्रदर्शन अधिकार माया डिजिटलले खरिद गरेको छ। यद्यपि, अधिकार बिक्री भएको रकम भने सार्वजनिक गरिएको छैन।फिल्मको अमेरिका प्रदर्शन अधिकार बिक्री भएपछि निर्देशक तथा मुख्य अभिनेत्री नीता ढुङ्गानाले खुसी व्यक्त गर्दै अमेरिकामा रहेका नेपाली दर्शकलाई फिल्म हेरेर साथ दिन आग्रह गरेकी छन्।
सामाजिक सञ्जालमार्फत उनले भनिन्, ‘माया, संघर्ष, स्वीकार्यता र आत्मीय सम्बन्धको कथा बोकेको ‘पार्वती’ अब अमेरिकामा बसोबास गर्ने नेपाली तथा चलचित्रप्रेमी दर्शकमाझ पनि पुग्दैछ। सबैले हलमा पुगेर फिल्म हेरिदिनुहोला।’नीताका अनुसार अमेरिकापछि अन्य मुलुकका वितरकहरूसँग पनि प्रदर्शन अधिकारका विषयमा छलफल भइरहेको छ।यसैबीच, फिल्ममा समावेश ८८रत्यौली गीत ‘नौतुना रेलैमा’८८ले युट्युब र सामाजिक सञ्जालमा राम्रो प्रतिक्रिया पाइरहेको छ। सार्वजनिक भएको छोटो समयमै गीतले दर्शकको ध्यान तान्न सफल भएको निर्माण पक्षको दाबी छ।
नीता ढुङ्गानाकै कथा र निर्देशनमा बनेको फिल्ममा उनी स्वयं मुख्य भूमिकामा छिन्। फिल्ममा दीपाश्री निरौला, अशोक दर्जी, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली र आशा पौडेललगायत कलाकारको अभिनय रहेको छ।शिवम् अधिकारीको पटकथा रहेको फिल्ममा सुदीप बरालको छायांकन र रामजी लामिछानेको नृत्य निर्देशन रहेको छ। नीता फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता हरिहर अधिकारी हुन् भने शंकर पाण्डे कार्यकारी निर्माता तथा प्रोडक्सन म्यानेजर रहेका छन्।यसअघि नीता ढुङ्गानाले निर्माण गरेको ‘ह्रस्वदीर्घ’ले पनि दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको थियो। अब ‘पार्वती’बाट उनी निर्देशकका रूपमा दर्शकमाझ आउँदैछिन्।