सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल शाहले आफूले चाँडै विश्वासको मत पाउने दाबी गरेका छन् । सोमबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पत्रकारहरूसँगको भेटघाटको कार्यक्रममा उनले विश्वासको मतका लागि सबै दलहरूसँग सकारात्मक छलफल भइरहेको र आफूले पाउने दाबी गरेका हुन् ।
यसअघि नेकपा एमालेबाट मुख्यमन्त्री भएका राजेन्द्रसिंह रावलले विश्वासको मत नपाएपछि उक्त सरकार ढलेर नेपाली कांग्रेसका संसदीय दल नेता शाहको नेतृत्वमा नयाँ सरकार बनेको थियो ।उनी मुख्यमन्त्री बनेको ११ दिन भइसकेको छ। ३० दिनभित्र प्रदेश सभा बैठकबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।
५३ प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिममा सरकार बनाउन २७ सांसद आवश्यक पर्छ। नेपाली कांग्रेसका १९ र एकीकृत समाजवादीका ४ गरेर सत्तारुढ पक्षसँग अहिले २३ सांसद छन्। उनीहरूलाई सरकार टिकाइराख्न नागरिक उन्मुक्ति वा माओवादीले समर्थन गर्नुपर्ने हुन्छ। त्यसैका लागि मुख्यमन्त्रीले दौडधुप बढाएका छन्।