काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्धको जाहेरी दर्ता गर्नु नपर्ने भएको छ । सन्धुलीका युवराज पौडेल (सफल) ले लामिछानेले झुटो विवरण दिएर राहदानी लिएको भन्दै जिल्ला सरकारी वकिल कार्यालयमा निवेदन दिएका थिए । तर, सरकारी वकिल कार्यालयले जिल्ला प्रहरी परिसर काठमाडौंमा छानबिन चलिरहेको सूचना आएको भन्दै जाहेरीमा केही गर्नुनपर्ने जनाएको हो ।
पौडेलले जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका थिए । तर, प्रहरीले लामिछानेको नागरिकता मुद्दाको फैसलाको पूर्णपाठ सर्वोच्च अदालतबाट आइनसकेको भन्दै दर्ता गर्न अस्वीकार गरेको थियो । प्रहरीमा दर्ता नभएपछि वकिल कार्यालयमा दर्ता गर्न पुगेका थिए । खिएन’ जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंका प्रमुख अच्यूतमणि न्यौपानेले प्रहरी परिसर, काठमाडौंमा परेको जाहेरीमाथि अनुसन्धान भैरहेकाले उजुरीमाथि थप केही गर्नुनपर्ने बताए ।
सरकारी वकिल कार्यालयले यसअघि लामिछानेको राहदानीको विषयमा जिल्ला प्रशासन कार्यालय काठमाडौं, राहदानी विभाग र अध्यागमन विभागबाट विवरण माग गरेको थियो । जिल्ला प्रशासन कार्यालय बाहेक अरु निकायबाट जवाफ नआएको सरकारी वकिल कार्यालयले जनाएको छ ।
रविको राहदानीको विषयमा केही महिनाअघि गृह मन्त्रालयमा परेको उजुरी जिल्ला प्रशासन कार्यालय हुदै जिल्ला प्रहरी परिसर काठमाडौंमा पुगेको थियो । जिल्ला प्रहरी परिसरले यसमाथि छानबिनको क्रममा अध्यागमन विभाग, राहदानी विभाग लगायतका निकायबाट विवरण मगाएको भेटिएको पनि सरकारी वकिल कार्यालयले जनाएको छ । प्रहरीले अनुसन्धान सकेर प्रतिवेदन पेश गरेपछि मात्रै सरकारी वकिल कार्यालयले अध्ययन गरी थप निर्णय गर्ने जनाएको छ ।