भरतपुर । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) चितवनले किसानका मागहरु तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेको छ । अध्यक्ष भागिरथ तिमल्सेनाले विज्ञप्ति निकाल्दै किसानको पक्षमा योजना ल्याउनुपर्ने सरकारनै सत्तामोहमा अलमलिरहेको आरोप लगाएका छन् । बिचौलिया मार्फत मल, बीउ र प्राविधिक सेवा लिएर अत्याधिक लागतमा उत्पादन भएका तरकारीले उचित मूल्य र बजार नपाउदा खेतमा नै जोत्न पर्ने, बाटोमा फाल्नुपर्ने बाध्यताप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।
कृषिप्रधान देशमै किसानले राज्यबाटै सेवा सुविधा पाउन नसकेको गुनासो गरेका छन् । बजारमा ल्याव परीक्षण नगरिएका भारतीय कृषि उपजले बजार कब्जा गरेकाले आयात रोक्न माग गरेका छन् । यही २० गते नारायणगढको पुलचोकमा चितवनका तरकारी किसानले तरकारीनै सडकमा फालेर गरेको विरोधप्रति महासंघले एक्यवद्धता जनाएको छ । दुग्ध उत्पादक कृषकहरुले दूधको मूल्य वृद्धिको लागि उठाएको माग समेत समयमै पुरा गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।