वीरगञ्ज । बहिरा अपांगता भएकाहरुका अभिभावकहरुलाई वीरगञ्जमा सांकेतिक भाषाबारे जनचेतना दिइएको छ । पर्सा बहिरा संघको १२ औं साधारण सभामा सांकेतिक भाषाबारे चर्चा गरिएको हो । बहिरा संघ पर्साको आयोजना तथा वीरगञ्ज महानगरपालिकाको सहयोगमा भएको जनचेतनामुलक कार्यक्रम तथा साधरणसभामा सांकेतिक भाषाका प्रशिक्षणहरु बढाउनुपर्नेमा सहभागिले जोड दिएका छन् ।
वीरगञ्ज महानगरपालिकाका शिक्षा शाखा प्रमुख अरविन्दलाल कर्णले सांकेतिक भाषाका कक्षा तथा प्रशिक्षणहरुलाई महानगरले उच्च प्राथमिकता दिएको बताए । वीरगञ्ज महानगर बहिरा विद्यालय राधेमाईमा ४० भन्दा बढी विद्यार्थीहरू अध्ययनरत छन । पर्सा बहिरा संघका अध्यक्ष सगुन श्रेष्ठले बहिरा अपांगता भएकाहरुलाई लामा तथा संयुक्त वाक्यहरु बुझाउन निकै कठिन हुने गरेको बताए । उनले सांकेतिक भाषाका शिक्षकहरुको संख्या बढाउनुपर्नेमा जोड दिए । संकेत एउटै तर फरक अर्थ लाग्ने कैयन शव्दावलीहरु हुने भएकाले कक्षामा बुझाईमा फरक पर्ने गरेको बताए ।
सांकेतिक भाषाका विद्यालयहरुलाई राज्यले विशेष सहयोग गर्नुपर्ने बताए । राष्ट्रिय बहिरा महासंघका संघीय कोषाध्यक्ष कुमार रेग्मीले समुदायका हरेक व्यक्तिलाई सांकेतिक भाषाबारे ज्ञान हुन जरुरी रहेको बताए । जन्म देखि नै बहिरा भएका बच्चाहरूलाई विभिन्न माध्यमले शिक्षा दिन सक्ने जनचेतना फैलाउन आवश्यक रहेको बताए । कार्यक्रममा वीरगञ्ज महानगरपालिका वडा नं १३ का वडा अध्यक्ष हिरा गिरी, सञ्चारकर्मी अजित भुजेल, विद्यालय व्यवस्थापन समितिका सदस्य सरिता देवी लगायतले मन्तव्य व्यक्त गरेका थिए । बहिरा स्कुलका दोभासे शिक्षक अर्चना कर्णले सांकेतिक भाषाबारे अभिभावकहरु जानकार हुनुपर्ने बताइन् ।