५ वटा मन्त्रालय घटाउने गण्डकी प्रदेश सरकारले निर्णय गरेको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशमा रहेका १२ वटा मन्त्रालयबाट ७ वटामा झार्ने निर्णय गरेको हो । सत्ता साझेदार दलका सांसदहरू मन्त्री बन्न लाइन लाग्दा प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने निर्णय गरेको छ ।
गण्डकीमा सत्ता साझेदार दलहरू एमाले, माओवादी केन्द्र र राप्रपाका गरी ३१ जना मात्र सांसद छन् । ६० सदस्य रहेको गण्डकी प्रदेश सभामा कांग्रेसको २७ जना र एक जना स्वतन्त्र सांसद छन् ।
मन्त्रिपरिषदले सोमबार गरेको निर्णय अनुसार अब गण्डकीमा तीन जना मात्र मन्त्री थपिनेछन् । यी तीन मन्त्रीमा कुन दलले कति पाउने भन्ने भागबण्डा अहिलेसम्म मिलेको छैन । माओवादी संसदीय दलका नेतासमेत रहेका मन्त्री चुमानले आफ्नो पार्टीले अब २ वटा मन्त्रालय पाउनुपर्ने दाबी गरेका छन् ।
एमालेले भने माओवादीलाई थप २ मन्त्रालय दिन अहिलेसम्म तयार छैन । मन्त्री बन्न दौडधुप गरिरहेका सांसदले संसदीय दल र संसदीय समितिमा लैजाने आश्वासन दिएर मनाउन थालेका छन् ।