भरतपुर । नवनियुक्त केही मन्त्रीहरुलाई लक्षित गर्दै सामाजिक सञ्जालमा आलोचना सुरु भएको छ । स्वार्थ बाझिने गरी केही व्यक्ति मन्त्री बनेको भन्दै समाचारहरु तथा सामाजिक सञ्जालमा टिप्पणी भैरहेका छन् । माओवादी केन्द्रका पोलिटव्युरो सदस्य रामप्रसाद सापकोटा दीपशिखाले आज (बुधबार) सामाजि सञ्जाल (फेसबुक) मा आफ्नै पार्टी अध्यक्षको नेतृत्वमा विस्तार भएको सरकारका मन्त्रीहरु विरुद्ध प्रश्न उठाएका छन् ।
उनले फेसबुकमा लेखेका छन्– ‘नयाँ गर्छु भन्ने दलः आफ्नै नागरिकता छानविन भइरहदा गृहमन्त्री, मेनपावर व्यवसायीलाई श्रममन्त्री, ठेकेदारलाई शहरी विकास मन्त्रालय ! लाज मान्नुपर्दैन ?’ उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने नागरिकता र राहदानी विवादमा परेका छन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत हुन् । उनको पार्टीले २० सिट जितेको छ ।
नवनियुक्त श्रममन्त्री डोलप्रसाद अर्याल इजिलिंक रेमिटेन्सका सिइओ हुन्, जसले वैदेशिक रोजगारीको नियमन गर्ने जिम्मा लिएका छन् । नवनियुक्त शहरी विकास मन्त्री विक्रम पाण्डे सिक्टा सिँचाई आयोजनामा अर्बौ भ्रष्टाचार गरेको अभियोग अख्तियार मुद्धा हालेको थियो । उनी विरुद्ध २०७५ मंसिर २१ मा अख्तियारले दिएको मुद्धाको ४ वर्षपछि विशेष अदालतले सफाई दिएपनि अझै पूर्णपाठ आइसकेको छैन । अख्तियार पूर्णपाठ आइसकेपछि फेरी सर्वोच्चमा पुनरावेदनका लागि जाने तयारीमा छ । पाण्डे विरुद्ध २ अर्ब ४० करोड बढीको बिगो दाबी गरिएको थियो ।