भरतपुर । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने भरतपुर विमानस्थलबाट बिहीबार साढे १० बजेतिर एकाएक धर्मचोक पुगे । धर्मचोकको पुरानो चौतारो भएको ठाउँमा उभिएका लामिछाने निकै खुशी देखिन्थे । केहीले रवि लामिछानेको प्रशंसा गर्र्दै थिए । शहिदचोक–धर्मचोक–यज्ञपुरी चोकसम्मको सडक कालोपत्रे भएकोमा गृहमन्त्रीले बधाई लिदै थिए ।
गृहमन्त्री लामिछानेले भन्दै थिए, ‘धुलै धुलो भरिएको यो ठाउँमा उभिएर सार्वजनिक सुनवाई गरेका थियौँ, आज फर्केर आउँदा चिल्लो राम्रो सडक भएको देखेँ, मलाई एकदमै खुशी लाग्यो ।’ रवि लामिछाने मंसिर १० गतेनै धर्मचोक पुगेर बोलेका थिए, ‘मैले यसरी उभिएर बाटो बनाउने कामलाई झकझक्याउँदै गर्दा कसैले स्टन्ड ग¥यो भने भन्लान्, त्यो मतलब भएन ।’
रविकै कारण सडक निर्माणले गती पाएकै हो त भन्ने प्रश्नहरु पनि उठिरहेका छन् । स्थानीय सरकार भरतपुर महानगरले बजेट ल्याउनदेखि बनाउनका लागि पटक पटक गरेका पहलहरु ओझेलमा परेपछि केहीले सामाजिक सञ्जालमा तितो पोखेका छन् । भरतपुर महानगरका इञ्जिनियर साकार लामाले कागजपत्र र तस्विरहरु राख्दै सामाजिक सञ्जालमा लेखेका छन्, ‘जस लिन होडबाजी गर्नै पर्दैन, बजेट पहल गर्ने रेनु दाहाल, काम गर्ने कार्यालय, निर्माण व्यवसायीलाई समन्वय र निर्देशन गर्ने रेनु दाहाल र निर्माण सम्पन्न गराउन पनि दुख गर्ने पनि रेनु दाहाल नै हो ।’ सामाजिक सञ्जालमा रवि लामिछानेले जस लिन गरेको होडबाजीको आलोचना हुन थालेका छन् । वाइसिएल नेपालका केन्द्रीय कोषाध्यक्ष सन्तोष पनेरुले गृहमन्त्री लामिछानेलाई व्यंग्य गर्दै लेखेका छन्, ‘मित्रहरु काम गर्ने कालू, मकै खाने भालु कथाहरुमा सुहाउँछ, यथार्थमा होइन ।’ युवा नेता सुसन चितवने पनि लेख्छन्, ‘जनताको प्रत्यक्ष नियमित जीवनसँग जोडिएको कुरामा स्टण्डको राजनीति बन्द गर्न अनुरोध गर्दछु ।’
माओवादीकै विद्यार्थी नेता अशोक देवकोटा सामाजिक सञ्जालमा लेख्छन्, ‘रवि लामिछानेले रेनु दाहालसँग प्रतिस्पर्धा होइन, सहकार्य गर्दा राम्रो हुन्छ ।’ सामाजिक सञ्जालमा रवि पक्षधरले ५ वर्षसम्म नबनेको बाटो निर्देशनपछि बनेको भनेर प्रचार गरिरहेका छन् । माओवादी पक्षधरले भने मेयर रेनुको योगदानलाई मेट्न खोजेको टिप्पणी गरिरहेका छन् ।
विकास–निर्माण हुनु राम्रै हो । तर, जस लिने होडबाजी भने रोचक देखिएको छ । सडक निर्माणको कथा भने बेग्लै छ । सघन शहरी तथा भवन निर्माण आयोजना भरतपुर मार्फत रमण शिवशक्ति जेभीले २०७५ असार २६ गते सडक निर्माण गर्ने जिम्मा पाएको थियो । शहिदचोकहुदै वैकुण्ठचोक–धर्मचोक–यज्ञपुरीचोक जोड्ने ३ दशमलव २ किमि सडकखण्ड कालोपत्रे गर्ने काम पुरै ठप्प भने थिएन । २ वर्षमा निर्माण सक्ने भनिएपनि कोभिड–१९ लगायतका अनेक बहानामा काममा ढिलाई भएको थियो । यही चैत भित्रै निर्माण पुरा गर्नुपर्ने गरि म्याद थपिएको थियो । निर्माण व्यवसायीले ५ खण्डमा निर्माण कार्य जारी राखेका थिए । तर, स्थानीय सन्तुष्ट थिएनन् । भत्काइएको सडकको धुलोले दिनरात सताएको थियो । सांसदमा निर्वार्चित भएलगत्तै बाटो छिटो निर्माण गर्न ठेकेदार पक्षलाई सडकमै बोलाएर लामिछानेले निर्देशन दिएकै थिए । जतिबेला ५ सय ५० मिटर बाटो मात्रै कालोपत्रे गर्न बाँकी थियो ।
निर्माण व्यवसायीले सांसदको निर्देशन पालना गरेको देखाउन २ ट्रिपर गिटी झारे, तर काम अगाडी बढेन । मंसिर १० गते निर्देशन दिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछाने काठ्माण्डौ गए । १५ दिनसम्म कुनै काम भएन । मेयर रेनु दाहालले १५ दिनपछि मंसिर २५ गते आयोजना प्रमुख, निर्माण व्यवसायीलाई महानगरमै बोलाएर निर्देशन दिइन् । निर्माण व्यवसायीका तर्फबाट प्रोजेक्ट म्यानेजर रञ्जन ठाकुर सहभागि थिए ।
मेयरकै अध्यक्षतामा बसेको बैठकले ५ वटा निर्णय ग¥यो । निर्माणाधिन धर्मचोक–बैकुण्ठचोक– सडकखण्डको बाँकी ५ सय ५० मिटर सडक पुस ३ गतेबाट बेश कोर्श फाइनल गरि पुस १३ गतेभित्र अस्फाल्ट कार्य पुरा गर्ने तथा शहिदचोक–धर्मचोक–कचपचे सडकको निर्माण सम्पन्न गर्न बाँकी रहेका फिनिसिङका काम छिटै पुरा गर्ने लगायतका निर्णयमा हस्ताक्षर गर्ने काम भए । मेयर रेनु दाहाल, उपमेयर चित्रसेन अधिकारी, आयोजना प्रमुख प्रकाश अर्याल, इञ्जिनियर साकार लामा, सब–इञ्जिनियर लक्ष्मण श्रेष्ठ, प्राजेक्ट म्यानेजर रञ्जन ठाकुरले हस्ताक्षर गरेका थिए । रवि सडकमै उत्रिएपछि बल्ल महानगर गयो भन्ने प्रश्न उठ्न सक्छ । भदौमा महानगरमा बसेको बैठकले असोजमै सो सडक निर्माण कार्य पुरा गर्न ताकेता गरेको थियो । तर, काममा ढिलाई भएपछि फेरी महानगरका मेयर दाहालले चुनाव अगावै बाटो कालोपत्रे गर्न पटक–पटक निर्देशन दिएकी थिइन् ।
१० मिटर चौडाईमा गरिएको सो सडकबाट झण्डै ३ सय घरधुरी प्रत्यक्ष लाभान्वित छन् । धर्मचोक सडक निर्माणको जिम्मा पाएकै निर्माण व्यवसायीले प्रचण्डपथ अन्र्तगतको महेन्द्रचोक–रिमालचोक सडक, पार्वतीपुरको बाँकी सडक निर्माणमा ढिलाई गरेपछि महानगरले मंसिरमै १ महिनाभित्र काम सक्न निर्देशन दिएको थियो । धुलाम्मे सडकले आसपासका व्यवसायी, यात्रु, सर्वसाधरणले सास्ती खेप्दै आएका थिए । वडाध्यक्षहरु, मेयर, उपमेयरलाई बाटो छिटो बनाउन स्थानीयले गुनासो राख्दै आएका थिए । धर्मचोकको बाटो बनाउन निर्वाचित सांसदलाई पनि स्थानीयले गुनासो गरेपछि उनले एकपल्ट निर्माण व्यवसायीलाई सवर्साधरणकै अगाडी राखेर अलपत्र बनेको बाटोमा छिटो बनाउन निर्देशन दिएका थिए ।
मंसिर २६ गते बागमती प्रदेशका सांसद उत्तम जोशी सहितको टोली यही सडकको विषयलाई लिएर आयोजनाको कार्यालयमै डेलिगेसनमा पुगेको थियो । सडक कालोपत्रे बनेपछि केही मिडियामा ५ वर्षदेखि अलपत्र बनेको बाटो रविको निर्देशनमा १ महिनामै बन्यो भनेर प्रचार भएपछि केही स्थानीय आँफै अलमलमा परे । धर्मचोकका भानुभक्त सापकोटा भन्छन्, ‘५ सय ५० मिटरबाहेक अन्य सबै बाटो कालोपत्रे भैसकेपछि बल्ल रवि अन्तिम आवरमा आएका थिए, बेश फिजाउने काममात्रै बाँकी थियो, जस उनलाई धेरै दिए, तर कत्तिको गुणस्तरको भएको छ भनेर हेर्ने कोही भएनन् ।’ सडक कालोपत्रे भएपनि नालाहरुमा स्ल्यावहरुनै नराख्दा दुर्घटनाको जोखिम अझै नटरेको उनले बताए । “सडक कालोपत्रे बन्यो, धुलोबाट मुक्त बनियो नै”, उनी भन्छन्, “तर, रविलेमात्रै बनाए भन्ने होइन, यो बाटो बनाउन रवि, रेनु सबैको योगदान छ ।”
स्थानीय यमलाल भण्डारी रविको अगाडीनै भन्दै थिए, ‘धर्मचोकबासीहरुले ५ वर्षदेखि धुलो खेप्नुप¥यो, अहिले बाटो बन्यो, रेनु पनि अनुगमनमा आएर बाटो बन्नुप¥यो भनिदिनुभयो, रवि जि आएपछि ५ वर्षमा नबनेको बाटो बन्यो ।’
धर्मचोकबासीसँग गृहमन्त्री लामिछानेले भन्दै थिए, ‘म उभिदैमा यो काम भएको होइन, । स्थानीय निकाय, निर्माण व्यवसायी देखि सबैको समन्वयले बनेको हो । सबै जस मैले लिएँ भने अन्याय हुन्छ । अलिकति जस बाँकी रहे मलाई दिनुहोला ।’ रविले स्वयम जस नलिने भनेपनि उनकै कारण बाटो बनेको खबरहरु सार्वजनिक भएका छन् । धर्मचोकको बाटो बजेट ल्याउन वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पहल गरेको स्थानीयहरु बताउँछन् । विकास निर्माणका कामहरु समयमै पुरा हुनुपर्छ । त्यसका लागि सरोकारवालाहरुले पहल गर्नैपर्छ ।