भरतपुर । सरकारमा गएपछि उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने पहिलो पटक आज चितवन आएका छन् । चितवनबाट अत्याधिक मतले विजयी भएका उनी विभिन्न कार्यक्रममा सहभागी हुन चितवन आएका हुन् ।
१४ औँ चितवन महोत्सव परिसरभित्र नेपाली युवा उद्यमी मञ्च चितवनले आयोजना गरेको ‘मेड इन नेपाल एक्स्पो २०७९’को गृहमन्त्री लामिछानेले अवलोकन गर्ने कार्यक्रम रहेको छ । दिउँसो ३ः१५ बजे गृहमन्त्रीले एक्स्पोको अवलोकन गर्ने गृहमन्त्रीका स्वकिय सचिव प्रकाश सिग्देलले जानकारी दिए । गृहमन्त्री लामिछानेले यसअघि नै आफुले स्वदेशमा उत्पादन भएका कपडा मात्रै लगाउने प्रतिबद्धता जनाएका थिए ।
विमानस्थलमा पत्रकार सम्मेलन लगत्तै उनी आफूले निर्देशन दिएको सडकको अवस्था हेर्न भरतपुर ४ स्थित धर्मचोक पुगेका छन् । त्यसपछि पोल्ट्री व्यवसायी र गृहमन्त्री बीच भरतपुर गार्डेनमा अन्तरक्रिया हुने छ । दिउँसो १ बजे खैरहनीमा आजदेखि सुरु हुन लागेको खिचरा महोत्सवको उद्घाटन गर्न पुग्ने सिग्देलले जानकारी दिए ।
यसअघि प्रधानमन्त्रीले विश्वासको मत लिएपछि चितवन आउने उनले बताएका थिए । उनले विमानस्थलमा भिआइपी कक्ष प्रयोग नगरी सर्वसाधारण निस्कने बाटो प्रयोग गरेका थिए । उनले पत्रकार सम्मेलन पनि विमानस्थल अगाडिको परिसरमा गरेका छन् । भोली नै काठमाडौं फर्कने उनको निजि सचिवालयले जनाएको छ ।