काठ्माण्डौ । यही पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिंदैछन् । ७ दलको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डले सहजै विश्वासको मत पाउदै छन् । सरकारमा सहभागि दलहरुबीचको सम्बन्धमा कुनै दरार आएको छैन । प्रधानमन्त्रीले विश्वासको मत लिने सम्बन्धी सूचना प्रतिनिधि सभाको २५ गते हुने बैठक मा प्रस्तुत हुनेछ । सभामुख नभएकाले जेष्ठ सदस्यले सूचना वाचन गर्नेछन् ।
प्रतिनिधि सभामा विश्वासको मत लिनका लागि सभामुखले प्रधानमन्त्रीलाई प्रस्ताव पेस गर्न समय दिनेछन् । २६ गते प्रतिनिधि सभाको बैठकमा विश्वासको मतका लागि दलहरुसँग प्रधानमन्त्रीले प्रस्ताव राख्नेछन् । प्रधानमन्त्रीले विश्वासको मतको प्रस्ताव गर्नुअघि सम्बोधन गर्नेछन् । पुस २६ गते दिउँसो १ बजे बैठक बस्नेछ । बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिनेछन् । जवाफ दिइसकेपछि संसदमा मत विभाजनको प्रक्रिया सुरु हुनेछ । सांसदहरुलाई प्रस्तावको पक्षमा र विपक्षमा दस्तखतसहितको मत दिइन्छ । तर प्रधानमन्त्रीको विश्वासको मत लिदा ध्वनीमतको व्यवस्था हुँदैन ।
मत दिइसकेपछि मत सच्याउन निर्धारित समय दिइनेछ । यी सबै प्रक्रिया सकिएपछि सभामुखले पक्ष–विपक्ष मत परिणामको नतिजा सुनाउँछन् । विश्वासको मत परिणाम सुनाएपछि संसद सचिवालयले सो प्रस्ताव राष्ट्रपतिसमक्ष लेखेर पठाउँछ । सभाबाट बहुमतको साथ अनुमोदन भएपछि संवैधानिक व्यवस्थाबमोजिम विश्वासको मत प्राप्त भएको मानिन्छ ।
संविधानको धारा ७६ को उपधारा (२) वा –३) बमोजिम नियुक्त प्रधानमन्त्रीले नियुक्त भएको मितिले ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्ने हुन्छ । कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रतिनिधि सभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्ति गर्ने व्यवस्था छ । प्रचण्ड पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।