हामीले हरेक दिन महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं। आज पनि हामीले दिनभरि घटेका घटनाहरुलाई समेटेका छौं।
नेकपा एमालेले आगामी साउन २५ देखि २७ गतेसम्म विधान महाधिवेशन गर्ने भएको छ। शनिबार बसेको केन्द्रीय कमिटीको बैठकले यस्तो निर्णय गरेको हो। यसैबीच एमालेको खनाल–नेपाल पक्षका सांसदहरूले अध्यक्ष ओलीले कांग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा गरेको हस्ताक्षर फिर्ता गर्न दिएको अल्टिमेटम मान्य नभएको निष्कर्ष निकालेको छ।
लगातारको वर्षासँगै देशका विभिन्न स्थानको जनजीवन प्रभावित बनेको छ। सप्तकोशी नदीमा पानीको वहाव यस वर्षकै उच्च मापन हुँदा त्यहाँका स्थानियलाई सतर्क रहन आग्रह गरिएको स्थानिय प्रशासनले जनाएको छ भने सुरक्षा निकायलाई पनि हाई अलर्टमा रहन निर्देशन दिइएको छ। यस्तै निरन्तरको वर्षासँगै उदयपुर, झापा, सुनसरी, सप्तरी लगायतका जिल्लामा सयौं घर डुवानमा परेका छन् भने, जनजीवन प्रभावित बनेको छ।
कांग्रेसको १४ औं महाधिवेशनको मिति नजिकिएसँगै क्रियाशील सदस्यता छानबिनको काम सक्न पार्टीमा दबाव बढेको छ। जसका लागि छानबिन समितिले असार मसान्तभित्रै सम्पूर्ण काम सम्पन्न गर्ने गरि काम अघि बढाएको क्रियाशील सदस्यता छानबिन समितिले जानकारी गराएको छ। यसपटक कांग्रेसका क्रियाशील सदस्य करिब ९ लाख पुग्ने अनुमान गरिएको छ। जसमा ३० देखि ४० बर्षको उमेर समूहका सबै भन्दा बढी ४० प्रतिशत रहेको पनि कांग्रेसले जनाएको छ।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणकार्य अन्तिमचरणमा पुगेको छ। राष्ट्रिय गौरवको यो योजना अबको ६ महिनामा विमानस्थल निर्माणकार्य सम्पन्न हुने बताइएको छ। कुल २२ अर्ब रुपैयाँ चिनियाँ ऋण सहयोगमा निर्माण भइरहेको यो विमानस्थल निर्माण सन् २०२१ जुलाई १० सम्म सक्ने गरी सम्झौता भए पनि कोरोनाका कारण हालसम्म नसकिएको जनाइएको छ।
जारी युरोकप फुटबलमा शनिबार क्वाटरफाइनलका अन्तिम दुई खेल हुँदैछन्। पहिलो खेलमा चेक रिपव्लिकले डेनमार्कको सामना गर्दा दोस्रो खेलमा युक्रेन र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ। नेपाली समय अनुसार राति ९ः४५ बजे सुरु हुने चेक रिपब्लिक र डेनमार्कबीचको खेल अजरबैजानको बाकु ओलम्पिक स्टेडियममा हुनेछ। १२ः४५ बजे सुरु हुने इंग्ल्यान्ड र युक्रेनबीचको खेल इटालीको रोममा हुनेछ।
प्रकाशित: १९ असार २०७८ २०:५६ शनिबार