युरोपेली देशहरूमा कोरोना भाइरसबाट संक्रमितको संख्यामा फेरि वृद्धि भएको देखिएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले झण्डै दुई महिनापछि संक्रमितको संख्यामा फेरि वृद्धि भएको बिहीबार जानकारी दिएको हो ।
डब्लुएचओले संक्रमितको संख्यामा फेरि वृद्धि हुँदा अर्को चरणको महामारी सुरु हुनसक्नेतर्फ चिन्ता व्यक्त गरेको छ । कोरोना भाइरसको महामारी फैलिन नदिने उपायहरूप्रति बेवास्ता गरेमा महामारी फेरि फैलिने खतरा रहेकाले त्यसतर्फ सबै तत्काल सतर्क हुनुपर्ने संगठनको जोड छ ।
‘युरोपेली क्षेत्रमा महामारीको अर्को चरण सुरु हुनसक्ने खतरा देखिएको छ, त्यसैले महामारी नियन्त्रण गर्न अपनाउनु पर्ने उपायहरूप्रति सबै सतर्क हुनुपर्दछ,’ संगठनको युरोप क्षेत्रीय कार्यालयका निर्देशक हान्स क्लुग भन्छन् ।
उनले पत्रकार सम्मेलनमा दिएको जानकारीअनुसार युरोपेली क्षेत्रमा अहिले १० प्रतिशतको दरले संक्रमितको संख्यामा वृद्धि भएको हो । उनले युरोपेली देशहरुमा सामाजिक दूरी कायम राख्ने, मास्क लगाउने र सावुन पानी वा सेनिटाइजरको प्रयोग गर्ने कार्यलाई कडाइका साथ गर्न गराउन पनि आग्रह गरे।
नयाँ चरणको महामारीमा डेल्टा भेरियन्ट फैलिने भएकाले यसले थप क्षति हुने सम्भावना बढिरहेको उनले बताए । उनले खोप लगाउने अभियानलाई पनि उच्च प्राथमिकताका साथ अगाडि बढाउन पनि सबै देशका अधिकारीलाई आग्रह गरेका छन् ।
उनले भने, ‘खोपले डेल्टा भेरियन्टको कोरोनाभाइरसबाट बचाएको देखिएको छ, त्यसका लागि दुई मात्रा खोप लगाउनु अति राम्रो हुन्छ ।’ युरोपेली देशहरूमा औसतमा २४ प्रतिशतले खोप लगाएको पाइएको तथ्यांक पनि उनले पत्रकार सम्मेलनमा सार्वजनिक गरेका थिए ।
प्रकाशित मिति: बिहीबार, असार १७, २०७८, २०:५३:३२