हामीले हरेक दिन महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं। आज पनि हामीले दिनभरि घटेका घटनाहरुलाई समेटेका छौं।
आजका समाचारहरु मध्ये गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेकी हुन् । पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गर्न विपक्षी गठबन्धनका सांसदले प्रदेश प्रमुखको कार्यालयमा धर्ना दिएका थिए । त्यसको केही समयमै प्रदेश प्रमुख पौडेलले पोखरेललाई मुख्यमन्त्रीमा नियूक्त गरेकी हुन् । पोखरेललाई माओवादी, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसद् राजीव गुरुङको समर्थन छ ।
शुक्रवार प्रदेशसभा बैठकमा विवादास्पद अभिव्यक्ति दिएका नेपाली कांग्रेसका प्रदेश सभा सांसद नरोत्तम वैद्यले आफ्नो अभिव्यक्ति फिर्ता लिएको बताएका छन्। उनले शनिवारको संसद् बैठकमा सभामुखसँग समय लिएर आफ्नो शुक्रवारको अभिव्यक्तिप्रति आत्मालोचना पढेर सुनाएका थिए। यद्यपि सांसद नरोत्तम बैद्यलाई कारबाही गर्न माग गर्दै गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको छ । नेपाल कम्युनिष्ट पार्टी एमालेका विभिन्न १५ वटा जनसंगठनहरुले गृहमन्त्री खगराज अधिकारीलाई कारबाही गर्न माग गर्दै ज्ञापन पत्र बुझाएका हुन्।
नेपाली कांग्रेसको १४औं महाधिवेशन सरेको छ। शनिबार शीर्ष नेताहरुको बैठकले उक्त निर्णय गरेको हो। नयाँ मितिअनुसार महाधिवेशन भदौ १६ गतेबाट हुने कांग्रेसले जनाएको छ। त्यसको अनुमोदन असार ३ गते बस्ने केन्द्रीय समितिको बैठकले गर्ने पनि कांग्रेसले जनाएको छ। यसअघि भदौ ७ देखि १० सम्मका लागि महाधिवेशन मिति तोकिएको थियो। तर, कोरोनाको प्रभावको कारण देखाउँदै पुनः मिति पछि धकेलिएको हो।
मनसुन भित्रिएसँगै नेपालमा कृषकहरू व्यस्त बनेका छन्। त्यसमा पनि काठमाडौँ उपत्यका भित्रका किसानहरुलाई धान रोप्ने चटारोले छोपेको छ। बढ्दो शहरीकरणले खेतियोग्य जमिन खुम्चिँदै गएपनि उपत्यकाका काँठ क्षेत्रमा अझैपनि परम्परागत कृषी प्रणाली अन्तर्गत मनसुनसँगै धान रोप्ने गरिन्छ। यद्यपि, मनसुनले किसान खुसीभए पनि कोरोना प्रभावले कृषकलाई ठूलो असर पुगेको छ।
१६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत आज (शनिबार) विभिन्न तीन खेलहरु हुँदैछ । युरोकपमा आज समूह ‘ए’ को एक खेल र समूह ‘बी’ दुई खेल हुनेछन् । आज हुने पहिलो खेल समूह ‘ए’ मा रहेको वेल्स र स्वीजरल्याण्डबीच प्रतिस्पर्धा अहिले जारी छ भने, यस्तै समूह ‘बी’ को पहिलो खेलमा डेनमार्क र फिनल्याण्डबीच खेल हुँदैछ । यस्तै समूहको दोस्रो खेलमा बेल्जियम र रुसबीच प्रतिस्पर्धा हुनेछ । रुसमा हुने दुई टिमबीचको खेल राति १२ः४५ बजे सुरु हुँदैछ।
प्रकाशित: २९ जेष्ठ २०७८ २०:५८ शनिबार