विभाजनउन्मुख बनेको नेकपा (एमाले) विवाद समाधानको दिशातिर अघि बढेको छ । सहमतिको प्रस्थानविन्दु केलाई मान्ने भनेर एमालेभित्र बहस भइरहँदा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जेठ २ मा फर्कनु ‘प्रतिगमन’ भएको बताएका छन ।
वरिष्ठ नेता झलनाथ खनाल र नेता नेपाल समूहले ओली जेठ २ मा फर्कन सैद्धान्तिक रूपले तयार रहेको र प्राविधिक कुरा कार्यदलले मिलाउने जिकिर गरिरहँदा सल्लाहकार थापा विपक्षमा उभिएका हुन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘२०७८ साल जेठ २ गते पूरा तीन वर्ष बित्यो! प्राप्त सुझाव– पछाडि फर्किनु त प्रतिगमन हुन्छ! अग्रगमन २०७८, ७९ हुँदै अगाडि बढ्ने कुरा हो,’ उनी आफ्नो तर्कमा उभिँदै भन्छन्, ‘आज देखा परेका समस्याहरू आजै बसेर टुंग्याउनुपर्छ । हिजोतिर फर्र्किएर आजका समस्या निरूपण गर्न कठिन हुन्छ ।’
उनले आजका समस्याहरू आजैका सहमतिले समाधान दिने भन्दै हिजोका सहमतितिर फर्कंदा त्यो कामयावी नहुने बताउँछन् । उनले जेठ २ मा फर्कन सम्भव नै नभएको तर्क गर्छन् । परिस्थिति जेठ २ बाट निकै अघि बढिसकेकाले समयलाई पछाडि फर्काउन सक्ने ‘बहादुर’ कोही पनि नभएको जिकिर पनि गरे ।